नेपाल टेलिकम बन्यो एनपिएलको अफिसियल पार्टनर


काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण प्रायोजन गर्ने भएको छ। यससम्बन्धी सम्झौतामा नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाले हस्ताक्षर गरेका हुन्। यससँगै नेपाल टेलिकम एनपिएलको तेस्रो संस्करणको प्रायोजकका रूपमा जोडिएको छ।

सम्झौता कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले कम्पनीले विगतदेखि नै राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितालाई सहयोग गर्दै आएको बताए। एनपिएलको प्रायोजनले नेपाली क्रिकेटको संस्थागत विकासमा योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा नेपाली क्रिकेटप्रेमीको ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ।

नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा एनपिएलले खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ। प्रतियोगिताको तेस्रो संस्करणमा नेपाल टेलिकमको साझेदारीले नेपाली क्रिकेटको विकास र प्रतियोगिताको सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।