मलेखुको झोलुङ्गे पुल बन्यो वैकल्पिक मार्ग, पैदल पुलमा गुड्न थाले सवारी


धादिङ । त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ। दसैँ मनाएर फर्किने यात्रुको सङ्ख्या बढेसँगै पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई आवतजावतमा कठिनाइ भएको छ।

बेनिघाट रोराङ गाउँपालिका–३ स्थित त्रिशूली नदीमाथिको झोलुङ्गे पुलमा एकपटकमा एउटा मात्र सवारीसाधन आवतजावत गराउन सूचना टाँसिएको छ। तर, एकैपटक धेरै मोटरसाइकल र स्कुटर प्रवेश गर्दा पुल साँघुरो हुने र पैदलयात्रुलाई समेत ओहोरदोहोर गर्न समस्या हुने गरेको छ।

समाजसेवी शिवराज सापकोटाले पुलमा सवारीसाधनको चाप बढेसँगै सुरक्षा जोखिमसमेत बढेको बताए। भीड व्यवस्थापनका लागि स्थानीय प्रशासन वा सुरक्षाकर्मीको उपस्थिति आवश्यक रहेको उनको भनाइ छ।

धादिङबाट चितवन फर्कंदै गरेका मोटरसाइकल चालक अभिषेक अधिकारीले पुल पार गर्न आधा घण्टाभन्दा बढी घाममा पालो कुर्नुपरेको सुनाए। पुलको सुरक्षाबारे चिन्ता भए पनि अर्को विकल्प नहुँदा यही बाटो प्रयोग गर्न बाध्य भएको उनले बताए।

दसैँअघि स्थानीय युवाले पुलको प्रवेशद्वारमा बसेर एकपटकमा एउटा मात्रै मोटरसाइकल प्रवेश गराउने व्यवस्था मिलाएका थिए। तर, दसैँपछि काठमाडौँ, पोखरा र चितवन फर्किने यात्रुको सङ्ख्या बढेसँगै सवारी चाप व्यवस्थापन गर्न कठिन भएको छ।

गत भदौ १० गते आएको बाढीले धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो। त्यसयता सदरमुकाम तथा आसपासका क्षेत्रमा आवतजावत गर्ने मोटरसाइकल चालकले त्रिशूली नदीमाथिको मलेखुस्थित झोलुङ्गे पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन्।