काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी गरिएको छ। यद्यपि, कार्यक्रमको मिति औपचारिक रूपमा निश्चित भइसकेको छैन।
महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। तर, सभापतिबाहेक केन्द्रीय समितिमा निर्वाचित तथा निर्विरोध भएका अन्य २३० जनाले भने अझै शपथ लिन र निर्वाचित भएको प्रमाणपत्र प्राप्त गर्न बाँकी छ।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। उक्त समितिका सभापतिबाहेकका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण र प्रमाणपत्र वितरणका लागि निर्वाचन समितिले तयारी अघि बढाएको हो।
कांग्रेसको निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले कात्तिक १२ गते कार्यक्रम गर्ने गरी तयारी भइरहेको जानकारी दिए। तर, मिति निश्चित भइनसकेको उनले स्पष्ट पारे।
‘हामीले कात्तिक १२ गते गर्ने गरी तयारी अगाडि बढाइरहेका छौँ। निश्चित भने भएको छैन,’ कटुवालले रातोपाटीसँग भने।
वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा मुलुकबाहिर रहेकाले कार्यक्रमको मिति तय गर्न ढिलाइ भएको कटुवालले बताए। शर्मा फर्किएपछि शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको समय निश्चित गरिने उनको भनाइ छ।
















प्रतिक्रिया