म्याग्दी । गत महिना आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको म्याग्दीका सबै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणका बेनी र तातोपानी वितरण केन्द्रले क्षतिग्रस्त प्रसारण तथा वितरण संरचनाको मर्मत गरी सेवा नियमित गरेका हुन्।
बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा शनिबारदेखि विद्युत् सेवा सञ्चालनमा आएको हो। अधिकांश स्थानमा दुई–तीन दिनभित्रै आपूर्ति पुनः सञ्चालन गरिएको उनले बताए। पाउद्धार, गिवाङ र किन्दु क्षेत्रमा दसैँको समयमा समेत कर्मचारी तथा मजदुरलाई रातिसम्म परिचालन गरेर सेवा सुचारु गरिएको थियो।
बाढीपहिरोले प्राधिकरणका ३३/११ केभी प्रसारण तथा वितरण लाइनका २५० वटा पोल र तिनमा जडान गरिएका तारमा क्षति पुर्याएको थियो। उक्त क्षतिबाट करिब एक करोड ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको गामीले जानकारी दिए।
क्षतिग्रस्त संरचना मर्मतसँगै केही स्थानमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति गरिएको छ। अन्नपूर्ण गाउँपालिकाका राम्चे र हिस्तान क्षेत्रमा यसअघि महभिरतर्फबाट विद्युत् आपूर्ति हुँदै आएकोमा अहिले पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटतर्फबाट वैकल्पिक व्यवस्था गरिएको छ। त्यस्तै, पाउद्धारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गरिएको गामीले बताए।
बेनी वितरण केन्द्रअन्तर्गत पर्वतको जलजला गाउँपालिकाका मल्लाज र वारीबेनीलगायत क्षेत्रमा समेत विद्युत् सेवा उपलब्ध हुँदै आएको छ। यस केन्द्रका कुल २४ हजार ४९० ग्राहक छन्। तातोपानी वितरण केन्द्रले अन्नपूर्ण गाउँपालिकाका वडा नं. १, २, ३ र ४ सहित मुस्ताङ जिल्लामा विद्युत् सेवा उपलब्ध गराउँदै आएको छ।
गामीका अनुसार विद्युत् आपूर्ति पुनः सञ्चालनमा आए पनि क्षतिग्रस्त संरचनाको थप मर्मत गरी सेवा अझ नियमित र व्यवस्थित बनाउने काम जारी रहनेछ। लामो समयदेखि विद्युत् सेवाबाट प्रभावित ग्रामीण क्षेत्रका बासिन्दाले पुनः बिजुली पाउन थालेपछि दैनिक जनजीवन सहज बन्दै गएको छ।
















प्रतिक्रिया