काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि गत वर्षको असोज र चालु आवको भदौको तुलनामा विद्युत् निर्यातबाट प्राप्त रकम बढेको हो।
प्राधिकरणको तथ्यांकअनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ। गत वर्षको असोजमा ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको विद्युत् बिक्री भएको थियो। यस वर्ष असोजमा उक्त रकम ९६ करोड २० लाख रुपैयाँले बढेको छ। त्यस्तै, भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले निर्यात कारोबार वृद्धि भएको छ।
चालु आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनामा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। असोजमा भारतको हरियाणा र बिहार राज्यमा द्विपक्षीय सम्झौताअनुसार विद्युत् बिक्री गरिएको थियो भने बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजारमार्फत प्रतिस्पर्धी दरमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार बाढीका कारण निर्यातका लागि स्वीकृति पाएका केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोजमा निर्यात कारोबार बढेको हो। असोजमा भारततर्फ निर्यात गरिएको विद्युत्को करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको थियो।
बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु
भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरु भएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य आयोजनाको विद्युत् बंगलादेशतर्फ निर्यात गर्न अनुमति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको हो। नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमेको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा भारतको हरियाणातर्फ निर्यात गर्न स्वीकृति दिइएको छ।
नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते भएको पाँचवर्षीय सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुँदै आएको छ। निर्यात पुनः सुरु भएपछि वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को बजार व्यवस्थापनमा सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।
यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ। यससँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।
















प्रतिक्रिया