ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल, सर्वसाधारणले कहिले पाउँछन् सुविधा ?


ललितपुर । ललितपुरको कुसुन्ती हाइटस्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल सञ्चालनको तयारीमा पुगेको छ। निर्माण अन्तिम चरणमा पुगेको पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सर्वसाधारणका लागि खुला गर्ने लक्ष्य राखिएको छ। यद्यपि, सञ्चालनको निश्चित मिति भने सार्वजनिक भएको छैन।

ललितपुर महानगरपालिका–१३ मा निर्माण भइरहेको उक्त पुलमा करिब ४ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ। २०८० फागुनमा निर्माण सुरु गरिएको पुल सम्झौताअनुसार एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर, प्राविधिक समस्या र निर्माण प्रक्रियामा देखिएका जटिलताका कारण निर्धारित समयमै काम पूरा हुन सकेन।

पुलको दुवैतर्फ लिफ्ट जडान गरिएको छ। यसले विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई व्यस्त चक्रपथ वारपार गर्न सहज बनाउने अपेक्षा गरिएको छ। सिँढी चढ्न कठिन हुने व्यक्तिका लागि लिफ्टको व्यवस्था उपयोगी हुने विश्वास गरिएको छ।

चक्रपथमा सवारीसाधनको चाप बढी हुने भएकाले पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गराउने र सम्भावित दुर्घटनाको जोखिम घटाउने उद्देश्यले पुल निर्माण गरिएको हो। लिफ्टसहितको संरचनाका कारण पनि यो पुल स्थानीयवासी तथा यात्रुहरूको चासोको विषय बनेको छ।

निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि कुसुन्ती हाइट क्षेत्रमा पैदलयात्रुको आवागमन सहज हुने अपेक्षा गरिएको छ। तर, सर्वसाधारणले पुल प्रयोग गर्न पाउने दिन भने औपचारिक सञ्चालन मिति सार्वजनिक भएपछि मात्रै निश्चित हुनेछ।