राष्ट्रपति कोजाग्रत पूजाका लागि दिउँसो ३ बजे नवदुर्गा मन्दिर पुग्ने


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कोजाग्रत पूर्णिमाको अवसरमा भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पूजाआजा गर्न जाने भएका छन्। राष्ट्रपति पौडेल दिउँसो ३ बजे मन्दिर पुग्ने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

आज विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमा मनाइँदै छ। यस दिनलाई दसैँको समापनका रूपमा पनि लिइन्छ। कोजाग्रत पूर्णिमाका अवसरमा धार्मिक विधिअनुसार पूजा–आराधना गर्ने परम्परा छ।

विजया दशमीका अवसरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म राष्ट्रप्रमुखले विभिन्न शक्तिपीठको दर्शन गरी पूजाआजा गर्ने प्रचलन छ।

राष्ट्रपति पौडेलले आज भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पूजाआजा गरेसँगै यस वर्षको विजया दशमीसँग जोडिएको राष्ट्रप्रमुखको शक्तिपीठ दर्शन तथा पूजाको क्रम पूरा हुनेछ।