कर्णाली याक्समा मार्क वाटको इन्ट्री, एनपीएल खेल्न नेपाल आए


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न स्कटल्यान्डका अलराउन्डर मार्क वाट नेपाल आइपुगेका छन्। कर्णाली याक्समा अनुबन्ध भएका ३० वर्षीय वाट आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए।

स्कटल्यान्डको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका वाट बायाँहाते स्पिन बलिङका लागि परिचित छन्। उनले स्कटल्यान्डका लागि ८३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय (टी–२० आई) खेलमा ९४ विकेट लिनुका साथै ३२१ रन बनाएका छन्। समग्र टी–२० क्रिकेटमा १३१ खेल खेलेका उनले १२३ विकेट र ४०३ रन बनाएका छन्।

वाटले यसअघि पनि कर्णाली याक्सबाट एनपीएल खेलेका थिए। दोस्रो संस्करणमा उनले ब्याटिङमा प्रभावशाली प्रदर्शन गर्दै ११४ रन बनाएका थिए। उनले उक्त प्रतियोगितामा केवल ४१ बलमा शतक प्रहार गरेका थिए। त्यससँगै उनी एनपीएलमा शतक बनाउने दोस्रो खेलाडी बनेका थिए। उनीभन्दा अघि आन्द्रेस गौसले एनपीएलमा शतक बनाएका थिए।

गत संस्करणमा आफ्नो प्रदर्शनबाट छाप छाडेका वाटको आगमनसँगै कर्णाली याक्सले यसपटक पनि बलिङ र ब्याटिङ दुवैमा योगदानको अपेक्षा गरेको छ। उनको स्पिन बलिङ र आक्रामक ब्याटिङ टोलीका लागि महत्त्वपूर्ण हुन सक्नेछ।

कर्णाली याक्सले यस संस्करणका लागि विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका डेविड मिलर, पाकिस्तानका साहिबजादा फरहान र हुसेन तलात, बंगलादेशका अरिफुल इस्लाम र अकबर अली तथा स्कटल्यान्डका मार्क वाटलाई अनुबन्ध गरेको छ।

घरेलु खेलाडीमा कर्णालीले मार्की खेलाडी सोमपाल कामीसँगै राष्ट्रिय टोलीका अलराउन्डर गुल्सन झा र बलर नन्दन यादवलाई समेटेको छ। त्यस्तै विपिन शर्मा, युनिसविक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई पनि टोलीमा अनुबन्ध गरेको छ।

एनपीएलको तेस्रो संस्करणमा कर्णाली याक्सले अघिल्लो सिजनको अनुभव र नयाँ खेलाडीको साथमा प्रतिस्पर्धा गर्नेछ। लगातार दोस्रो सिजन कर्णालीबाट खेल्न आएका वाटको प्रदर्शन यसपटक पनि टोलीका लागि चासोको विषय बन्नेछ।