मधेसका घाइतेले अब उपचारका लागि टाढा जानु नपर्ने, ढल्केवरमा ट्रमा सेन्टर बन्दै


धनुषा । धनुषाको ढल्केवरमा निर्माण गर्ने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्टरको प्रक्रिया अघि बढेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयोजनाको टेन्डरसम्बन्धी प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै छिट्टै शिलान्यास हुने विश्वास व्यक्त गरेकी छन्।

आइतबार ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको बताइन्। आवश्यक प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान गरिने र त्यसपछि निर्माणको काम अघि बढ्ने उनको भनाइ छ।

‘ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योल अब राख्नुपर्दैन । यो आयोजना सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको छ,’ मन्त्री मेहताले भनिन्।

निर्माणस्थलको निरीक्षणबाट आवश्यक तयारी उपयुक्त देखिएको उल्लेख गर्दै उनले आयोजना कार्यान्वयनको प्रक्रिया अघि बढिरहेको बताइन्। टेन्डर प्रक्रिया पूरा भएपछि निर्माणको काम सुरु हुने र छिट्टै शिलान्यास गर्न सकिने उनको विश्वास छ।

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको विषय लामो समयदेखि चर्चामा रहे पनि काम सुरु हुन नसक्दा स्थानीयवासीले आयोजना कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्दै आएका छन्। सडक दुर्घटनामा घाइते हुने तथा गम्भीर प्रकृतिका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन ट्रमा सेन्टर आवश्यक रहेको स्थानीयको भनाइ छ।

निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले पनि निर्माणको काम सुरु भएपछि मात्रै स्थानीयवासी आयोजनाप्रति विश्वस्त हुने बताइन्। उनले लामो समयदेखि आश्वासन पाउँदै आएका नागरिकलाई अब निर्माण कार्यको सुरुआत गरेर विश्वास दिलाउनुपर्नेमा जोड दिइन्।

‘ट्रमा सेन्टरका नाममा यहाँका नागरिक लामो समयदेखि आश्वासन पाउँदै आएका छन् । अब आश्वासनले मात्र चित्त बुझाउने अवस्था छैन । भवन निर्माण सुरु भएपछि मात्रै विश्वास जाग्छ,’ उनले भनिन्।

ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण भएमा धनुषासहित आसपासका जिल्लाका दुर्घटनामा घाइते भएका तथा गम्भीर अवस्थाका बिरामीलाई उपचारमा सहजता पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, आयोजना निर्माणको वास्तविक समयसीमा र सेवा सञ्चालनको मिति भने टेन्डर तथा निर्माण प्रक्रिया अघि बढेपछि स्पष्ट हुनेछ।