काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले महिलासँगको विवादसम्बन्धी सार्वजनिक अडियो आफ्नो नभएको भन्दै पार्टीको अनुशासन समितिलाई लिखित इन्कारी पत्र बुझाएका छन् । अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्दै उनले उक्त सामग्रीसँग आफ्नो संलग्नता अस्वीकार गरेका हुन् ।
केही दिनअघि सांसद सुनार र एक महिलाबीच विवाद भइरहेको भनिएको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएपछि रास्वपाले अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
छानबिन समितिका संयोजक भट्टराईका अनुसार सुनारले लिखित पत्रमार्फत विवादित अडियोमा सुनिएको आवाज आफ्नो नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पनि आफ्नो धारणा सार्वजनिक गरिसकेको पत्रमा उल्लेख गरेको भट्टराईले जानकारी दिए ।
शिलापत्रसँगको कुराकानीमा भट्टराईले सुनारको इन्कारी पत्र प्राप्त भए पनि त्यसकै आधारमा अनुसन्धान टुंगिने अवस्था नरहेको बताए । उनका अनुसार पत्रमा केही विषय बाहिर सार्वजनिक गर्न नमिल्ने उल्लेखसमेत गरिएको छ ।
समितिले अहिले विवादित अडियो र भिडियोको अध्ययन गर्ने प्रक्रिया अघि बढाएको छ । सांसद सुनारसँग सम्बन्धित अडियो प्राप्त भएपछि महिलासँग सम्बन्धित अडियो पनि आएको र त्यसलाई संकलन गर्ने काम भइरहेको भट्टराईले बताए ।
भट्टराईका अनुसार दुवै अडियोमाथि थप अध्ययन र छलफल गरिनेछ । आवश्यक प्राविधिक परीक्षणका लागि सूचना प्रविधि (आईटी) टोलीको सहयोगसमेत लिइने उनले जानकारी दिए ।
‘यो महिला अधिकार, बालअधिकार र सांसदको गरिमासँग जोडिएको विषय भएकाले गम्भीरतापूर्वक अध्ययन हुनेछ,’ भट्टराईले भने ।
सांसद सुनारले भने सार्वजनिक अडियो आफ्नो नभएको र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर तयार पारिएको भन्दै आफूलाई बदनाम गर्न खोजिएको दाबी गर्दै आएका छन् । उनले यसअघि भिडियो सन्देश जारी गर्दै पनि अडियोप्रति असहमति जनाएका थिए ।
सुनारले अडियो अस्वीकार गरे पनि रास्वपाले उनीमाथिको छानबिनलाई निरन्तरता दिएको छ । अनुसन्धान जारी रहेकै अवस्थामा पार्टीले उनलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ ।
विवादित अडियोको प्रामाणिकता, त्यसमा सुनिएको आवाज र दुवै पक्षसँग सम्बन्धित सामग्रीको अध्ययनपछि मात्रै समितिले थप निष्कर्ष निकाल्ने जनाएको छ ।

















प्रतिक्रिया