बिहीबारदेखि शनिबारसम्म वर्षाको जोखिम, सतर्क रहन मौसमविद्को आग्रह


काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण आगामी बिहीबारदेखि शनिबारसम्म नेपालका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका अधिकांश क्षेत्रमा मौसम बदली हुने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाशाखाका अनुसार हाल बङ्गालको खाडीको मध्य भागमा रहेको न्यूनचापीय प्रणाली पश्चिम तथा उत्तर-पश्चिम दिशातर्फ अघि बढिरहेको छ। भारतका भूभाग हुँदै अघि बढ्ने क्रममा यसले जलवाष्पयुक्त हावा नेपालतर्फ ल्याउने भएकाले देशको मौसममा प्रभाव पर्ने देखिएको हो।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार सोमबार र मंगलबारसम्म देशभरको मौसम सामान्यतया सफा रहनेछ। बुधबारदेखि भने हिमाली तथा पहाडी भूभागमा आंशिक बदली सुरु हुने सम्भावना छ।

बुधबार राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुन सक्नेछ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबारदेखि मौसमी गतिविधि थप सक्रिय हुने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात बढ्न सक्नेछ। कर्णाली प्रदेशको हिमाली क्षेत्रमा पनि यसको प्रभाव पर्नेछ भने पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ।

शुक्रबार यो प्रणालीको प्रभाव देशभर फैलिने अनुमान छ। त्यस दिन देशका अधिकांश भूभागमा बदली रही मध्यम वर्षा हुन सक्नेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा भारी हिमपातसमेत हुन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

शनिबारसम्म मौसममा प्रतिकूल अवस्था कायम रहन सक्ने र त्यसपछि क्रमिक रूपमा सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ।

किसान र पर्यटकलाई सतर्क रहन आग्रह

धानबाली भित्र्याउने मुख्य समयमा हुन सक्ने वर्षाले कृषि क्षेत्रमा असर पार्न सक्ने भएकाले किसानलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। काटेको धान खेतमै रहेको अवस्थामा वर्षा भएमा बालीमा क्षति पुग्न सक्ने जोखिम छ।

त्यस्तै, पदयात्रा तथा पर्वतारोहणका लागि अनुकूल मानिने समयमा हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुन सक्ने भएकाले पर्यटक, पदयात्री र पर्वतारोहीलाई पनि सतर्क रहन भनिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी बिहीबारदेखि शनिबारसम्मको मौसमबारे नियमित जानकारी लिन र प्रतिकूल अवस्था देखिएमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। मौसमसम्बन्धी थप अद्यावधिक जानकारीका लागि विभागको वेबसाइट, आधिकारिक फेसबुक पेज वा टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिनेछ।