काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजनाका रूपमा उल्लेख गर्दै प्रतियोगिताको सफलताको कामना गरेका हुन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै केही वर्षमै एनपीएल ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको बताएका छन्।
“नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजना नेपाल प्रिमियर लिग आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ,” उनले लेखेका छन्।
प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागतसमेत गरेका छन्। उनले नेपाली खेलाडी, प्रतियोगिता आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिता सफल बनाउन शुभकामना दिएका छन्।
उनले सन्देशको अन्त्यमा ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्दै नेपाली क्रिकेटप्रतिको आफ्नो समर्थन व्यक्त गरेका छन्।
एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता प्रदर्शन तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान विस्तार गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया