रसुवा । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिकाका नागरिकलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ। नुवाकोटमा अस्थायी रूपमा बसोबास गर्दै आएका बाढीपीडितलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रसुवाले यो प्रक्रिया अघि बढाएको हो।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार बाढीका कारण नागरिकतालगायत महत्वपूर्ण कागजात नष्ट भएका प्रभावितलाई राहत, पुनःस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक काममा समस्या नहोस् भनेर अस्थायी बसोबासस्थलमै पुगेर आवेदन संकलन गरिएको हो।
यसैक्रममा नुवाकोटस्थित पिपलटार होल्डिङ सेन्टरमा बस्दै आएका उत्तरगया गाउँपालिका–१ का २०२ जना बाढीपीडितले नागरिकताको प्रतिलिपिका लागि आवेदन दिएका छन्। उनीहरूबाट संकलन गरिएका आवेदन फाराम आइतबार जिल्ला सदरमुकाम धुन्चे ल्याइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।
संकलित आवेदनको अध्ययन तथा आवश्यक प्रमाणीकरणपछि नागरिकताको प्रतिलिपि तयार गरी होल्डिङ सेन्टरमै पुगेर हस्तान्तरण गरिने उनले बताए। यसबाट बाढीका कारण कागजात गुमाएका नागरिकलाई सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष माधव अर्यालले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरण प्रक्रियालाई तीव्रता दिइएको छ। बाढी प्रभावितलाई आवश्यक अन्य प्रशासनिक सेवासमेत क्रमशः उपलब्ध गराउँदै लगिने उनले बताए।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित उत्तरगयाका नागरिक हाल नुवाकोटमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन्। बाढीका कारण महत्वपूर्ण कागजात गुमाएका उनीहरूलाई प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउने प्रयासस्वरूप होल्डिङ सेन्टरमै सेवा पुर्याउन थालिएको हो।
















प्रतिक्रिया