एनपीएललाई ‘होम अवे’ प्रणालीमा लैजाने तयारी, तीन वर्षमा ८ रंगशाला बनाइने


उर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार तीन वर्षभित्र फ्लडलाइट सुविधासहित कम्तीमा आठ हजार दर्शक क्षमताका आठ क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्य राखिएको छ। यी रंगशाला निर्माण भएपछि एनपीएलका खेल राजधानीमा मात्र सीमित नरही देशका विभिन्न सहरमा सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ।

एनपीएलको तेस्रो संस्करणको शुभारम्भका अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री लम्सालले नेपाली क्रिकेटको विकास र प्रतियोगिताको देशव्यापी विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत ‘होम एन्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्न सकिने गरी आठ प्रमुख सहरमा फ्लडलाइटसहितका रंगशाला निर्माण प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको जानकारी दिएका छन्।

मन्त्री लम्सालले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको योजनाले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन्। उनले योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई पनि आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन्।

‘होम एन्ड अवे’ प्रणाली लागू भएमा एनपीएलका खेल विभिन्न सहरमा आयोजना गर्न सकिनेछ। यसले स्थानीय दर्शकलाई आफ्नै सहरमा खेल हेर्ने अवसर दिनुका साथै क्रिकेटप्रतिको आकर्षण र सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, फ्लडलाइटसहितका रंगशाला निर्माणले रात्रीकालीन खेल सञ्चालन गर्न सहज बनाउनेछ। कम्तीमा आठ हजार दर्शक क्षमताका रंगशाला तयार भएमा प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार विस्तार हुनुका साथै स्थानीय स्तरमा क्रिकेट गतिविधि बढाउन पनि मद्दत पुग्ने विश्वास गरिएको छ।

सरकारको यो योजना कार्यान्वयन भएमा नेपाली क्रिकेटको पूर्वाधार विकास र एनपीएलको विस्तारमा महत्त्वपूर्ण योगदान पुग्न सक्नेछ। यद्यपि, प्रस्तावित आठ सहर, निर्माणको विस्तृत कार्यतालिका र बजेटबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।