सभामुख र अमेरिकी संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता


काठमाडौं । सभामुख डीपी अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एन्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन र संसदीय सहकार्यलगायतका विषयमा छलफल भएको छ।

सभामुखको सचिवालयका अनुसार भेटमा अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि नेपाल सरकारले हरसम्भव प्रयास गरिरहेको बताए। विपद्को कठिन घडीमा अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि उनले अमेरिकी सरकारलाई धन्यवादसमेत दिए।

सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुसम्बन्धी आपत्कालीन एजेन्डा दुई तिहाइभन्दा बढी मतले पारित भएको जानकारी गराए। उक्त एजेन्डामा जलवायुसम्बन्धी विपद्को सामना गर्न तथा हिमालय क्षेत्रसहित जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल गर्नुपर्ने विषय समेटिएको थियो।

जलवायु परिवर्तनका कारण विपद्को उच्च जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद् पूर्वतयारी र उत्थानशीलता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय तथा अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा सभामुखले जोड दिए। जलवायुजन्य विपद्को सामना गर्न अनुदानमा मात्र निर्भर नभई आर्थिक तथा प्राविधिक क्षमता भएका राष्ट्रहरूले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत अनुदान सहयोगमा मात्र सीमित नराखी लगानी र आर्थिक साझेदारी विस्तार गर्नुपर्ने धारणा पनि सभामुख अर्यालले राखे। नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न तथा लगानीकर्ताको मनोबल उच्च राख्न आवश्यक नीतिगत र कानुनी सुधारका लागि आफू प्रतिबद्ध रहेको उनले बताए।

त्यस्तै, अमेरिकी संसद्का संसदीय ककस र नेपाल–अमेरिका संसदीय मैत्री समूहबीच निरन्तर संवाद तथा सहकार्य अघि बढाउनुपर्नेमा उनले जोड दिए। संसदीय भ्रमण र आदानप्रदानले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा संसदीय कूटनीतिलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले अमेरिकी प्रतिनिधिमण्डललाई नेपाल भ्रमणका लागि धन्यवाद दिए।

भेटका क्रममा अमेरिकी संसदीय प्रतिनिधिमण्डलले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो। साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै नेपालले भोग्नुपरेको विपद्प्रति सहानुभूति जनाएको थियो।

नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले आफूहरूलाई आकर्षित गरेको उल्लेख गर्दै प्रतिनिधिमण्डलले नेपाल–अमेरिका सम्बन्ध सुमधुर र विश्वासमा आधारित रहेको बताएको थियो। नेपालको आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासमा निरन्तर सहयोग गर्न र दुई देशबीचको संसदीय कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउन इच्छुक रहेको पनि प्रतिनिधिमण्डलले जनाएको थियो।

भेटमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र संसदीय सुनुवाइ समितिका सभापतिसमेत सहभागी थिए।