काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सोमबार पदभार ग्रहण गरेका छन्। बोर्डको कार्यालय पुगेर कार्यभार सम्हालेका पण्डितलाई कर्मचारी तथा अन्य पदाधिकारीले फूलमालासहित स्वागत गरेका थिए।
बोर्डमा पदभार ग्रहण गर्नुअघि पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर अध्यक्ष पदको नियुक्तिपत्र बुझेका थिए। गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
अध्यक्ष पदका लागि १२ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए। तीमध्ये मन्त्रालयले पण्डितसहित नरेशकुमार पौडेल र निशा अधिकारीलाई अन्तिम तीन प्रतिस्पर्धीका रूपमा छनोट गरेको थियो। त्यसपछि सरकारले पण्डितलाई बोर्डको नेतृत्वको जिम्मेवारी दिएको हो।
चलचित्र विकास बोर्डको बक्स अफिस प्रणाली लागू गर्ने प्रक्रियामा समेत संलग्न रहेका पण्डितलाई चलचित्र क्षेत्रको प्राविधिक व्यवस्थापनबारे अनुभव छ। बोर्डकी तत्कालीन अध्यक्ष निकिता पौडेलको कार्यकालमा बक्स अफिस सफ्टवेयर भित्र्याउने काममा उनले भूमिका खेलेका थिए।
पण्डित चलचित्र निर्माता पनि हुन्। चलचित्र क्षेत्रसँगको अनुभव र बोर्डको बक्स अफिस प्रणालीमा यसअघि गरेको कामले उनको नयाँ जिम्मेवारीलाई चासोका साथ हेरिएको छ।
अब उनको नेतृत्वमा चलचित्र क्षेत्रको विकास, बक्स अफिस प्रणालीको प्रभावकारी कार्यान्वयन तथा नेपाली चलचित्र उद्योगका चुनौती सम्बोधन गर्न बोर्डले कस्ता कदम चाल्छ भन्ने विषयमा चलचित्रकर्मी र सरोकारवालाको ध्यान रहनेछ।

















प्रतिक्रिया