काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटको उत्साहलाई नयाँ उचाइमा पुर्याएको बताएकी छन्। उनले मैदानमा जुनसुकै टिमले जिते पनि अन्ततः जित नेपाली क्रिकेटकै हुने उल्लेख गरेकी छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले एनपीएललाई नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गमका रूपमा व्याख्या गरेकी हुन्।
उनका अनुसार एनपीएलले नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभालाई विश्वस्तरीय खेलाडीसँग एउटै मैदानमा उभिने अवसर प्रदान गरेको छ। यसले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउनुका साथै हजारौँ युवाको आत्मविश्वास बढाउने र उनीहरूका सपनालाई नयाँ उडान दिने विश्वास उनले व्यक्त गरेकी छन्।
मन्त्री गौतमले उचित वातावरण निर्माण गर्न सके निजी क्षेत्रले खेलकुदका सम्भावनालाई उद्योगमा रूपान्तरण गर्न सक्ने बताएकी छन्। उनका अनुसार प्रतिभालाई अवसर र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण एनपीएल बनेको छ।
‘सरकारले उचित वातावरण सिर्जना गरिदिने हो भने निजी क्षेत्रले सम्भावनालाई उद्योगमा, प्रतिभालाई अवसरमा र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्छ भन्ने उत्कृष्ट उदाहरण एनपीएल बनेको छ,’ उनले लेखेकी छन्।
एनपीएलले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउनुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। प्रतियोगितामा सहभागी टिमबीच प्रतिस्पर्धा भए पनि यसको समग्र उपलब्धि नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा जोडिने मन्त्री गौतमको भनाइ छ।

















प्रतिक्रिया