काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाहले बल अम्पायरलाई हस्तान्तरण गरेसँगै प्रतियोगिताको औपचारिक सुरुवात भएको हो।
एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। उपाधि दाबेदार मानिएका यी दुई टोलीबीचको भिडन्तले प्रतियोगिताको सुरुवातमै दर्शकको ध्यान तानेको छ।
उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। त्यससँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्दै लुम्बिनीसमक्ष प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्नेछ।
तेस्रो संस्करणको सुरुवातसँगै नेपाली क्रिकेटप्रेमीमाझ एनपीएलको रौनक बढेको छ। घरेलु तथा विदेशी खेलाडीको सहभागिता रहने प्रतियोगिताले नेपाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनुका साथै घरेलु क्रिकेटको व्यावसायिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
साविक विजेता लुम्बिनी आफ्नो उपाधि जोगाउने लक्ष्यमा रहँदा गत संस्करणको उपविजेता सुदूरपश्चिम यसपटक उपाधि जित्ने योजनासहित मैदानमा उत्रिएको छ। उद्घाटन खेलको नतिजाले दुवै टोलीको प्रतियोगिताको सुरुवाती यात्रा निर्धारण गर्नेछ।

















प्रतिक्रिया