काठमाडौं । ‘गाभी, द भ्याक्सिन एलायन्स’ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कूटनीतिक पहलमार्फत नेपालले नियमित खोप कार्यक्रमका लागि उक्त सहयोग प्राप्त गर्ने जानकारी दिएकी हुन् ।
यसैगरी, नेपालले फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर रकमसमेत गाभीले मिनाहा गर्ने भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।
गाभीसँगको संवादपछि खोप सहयोगसम्बन्धी विषयमा सहजीकरण हुनुका साथै उक्त रकम मिनाहा हुने निर्णयले नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने मन्त्री मेहताको अपेक्षा छ ।
नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित राख्दै आएको छ । नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त सहयोग महत्त्वपूर्ण मानिन्छ ।
गाभीबाट प्राप्त हुने खोप सहयोगले आगामी वर्षहरूमा नेपालको नियमित खोप कार्यक्रम सञ्चालन गर्न तथा खोप सेवाको निरन्तरता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया