नेपालतर्फ बढ्दै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा उच्च सतर्कता


काठमाडौँ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चक्रवात कमजोर हुँदै नेपाल नजिकको भारतीय भूभागतर्फ अघि बढ्ने क्रममा रहे पनि यसको प्रभावले आगामी शनिबारसम्म देशको मौसम प्रतिकूल रहने पूर्वानुमान गरिएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवात हाल भारतको आन्ध्र प्रदेशको समुद्री तटीय क्षेत्र आसपास केन्द्रित छ। उक्त प्रणाली जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर बन्दै भारतको आन्तरिक भूभाग हुँदै अघि बढ्नेछ। आगामी कात्तिक १३ गतेसम्ममा यो प्रणाली नेपाल नजिकको भारतीय राज्य उत्तर प्रदेश र बिहार आसपास आइपुग्ने अनुमान गरिएको छ।

चक्रवातको आंशिक प्रभाव नेपालमा देखिन थालिसकेको महाशाखाले जनाएको छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागेको छ भने लुम्बिनी प्रदेशका एक–दुई स्थानमा बिहानीपख हल्का वर्षासमेत भएको छ।

महाशाखाका अनुसार आज देशभर मौसम बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। तर, भोलिदेखि शनिबारसम्म वर्षाको मात्रा र क्षेत्र विस्तार हुने अनुमान गरिएको छ।

यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मध्यम वर्षा हुनसक्नेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका धेरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षाको जोखिम विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी देखिएको छ। यी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि भारी वर्षा हुनसक्ने बताइएको छ।

यसका साथै कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको समेत प्रभाव रहने भएकाले मेघगर्जन, चट्याङ र असिनापानीको जोखिम रहेको महाशाखाले जनाएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै महाशाखाले आइतबार बिहानसम्मका लागि मौसमसम्बन्धी चेतावनी नक्सा जारी गरेको छ। नक्साअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा रातो रङको रेड अलर्ट जारी गरिएको छ। ती क्षेत्रमा सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह गरिएको छ।

त्यस्तै, कोशीको पहाडी भूभाग, मधेस, बागमती र गण्डकीका पहाड तथा तराई, लुम्बिनीको पहाडी भूभाग र पूर्वी तराई तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा सुन्तला रङको अरेन्ज अलर्ट जारी गरिएको छ। यी क्षेत्रमा सतर्क रहन र मौसमसम्बन्धी सूचनाबारे नियमित जानकारी लिन महाशाखाले आग्रह गरेको छ।

अन्य भूभागमा पहेँलो रङको चेतावनी जारी गर्दै सचेत रहन अनुरोध गरिएको छ। सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा अन्य मौसमी विपद्को जोखिम हुनसक्ने भएकाले नागरिकलाई सतर्क रहन र सम्बन्धित निकायका सूचनाको पालना गर्न आवश्यक छ।