सुदूरपश्चिमसँग बदला लिने दाउमा पोखरा, दुवै सिजन रोयल्ससँग हारेको थियो पोखरा एभेन्जर्स


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा पोखरा पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम पहिलो खेलको हार बिर्सेर पुनरागमन गर्न चाहन्छ।

एनपीएलका अघिल्ला दुई संस्करणमा पोखरा र सुदूरपश्चिमबीच भएका दुवै खेलमा रोयल्स विजयी भएको थियो। पहिलो सिजन सुदूरपश्चिमले पोखरालाई पाँच रनले हराएको थियो भने दोस्रो सिजन १८ रनको जित निकालेको थियो।

पहिलो सिजन सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १४८ रनमै समेटिएको थियो। दोस्रो सिजन भने सुदूरपश्चिमले सात विकेट गुमाएर १९३ रन बनाएको थियो। जवाफमा पोखराले आठ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो।

यसपटक पोखरा पुरानो हारको बदला लिँदै सुदूरपश्चिमविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा छ। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले बंगलादेशका अनुभवी अलराउन्डर शाकिब अल हसनसहित विदेशी खेलाडीमाथि भरोसा राखेको छ।

अर्कोतर्फ, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो। उक्त खेलमा टोली ८७ रनमै समेटिएको थियो। त्यसैले पोखराविरुद्ध ब्याटिङ सुधार्दै प्रतियोगितामा फर्कने चुनौती सुदूरपश्चिमसामु छ।

अघिल्ला दुई सिजनको इतिहास सुदूरपश्चिमको पक्षमा रहे पनि यसपटक पोखराले नतिजा उल्ट्याउन सक्छ वा सक्दैन भन्ने चासो बढेको छ। दुवै टोलीका लागि यो खेल प्रतियोगितामा लय समात्ने महत्त्वपूर्ण अवसर हुनेछ।