काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको भनिएको आर्थिक अनियमितता तथा ठगीसम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतमा सुनुवाइ सुरु भएको छ। एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अदालतमा उपस्थित भएर बयान दिएपछि बुधबार न्यायाधीश हरिसिंह धामीको इजलासमा सुनुवाइ अघि बढेको हो।
ललितपुर जिल्ला अदालतका प्रवक्ता टिकाध्वज कार्कीका अनुसार मुद्दा दायर भएपछि उपस्थित नभएका अध्यक्ष नेम्वाङ र महासचिव राई बुधबार बयानका लागि अदालतमा हाजिर भएका थिए। उनीहरूको बयानपछि मुद्दाको सुनुवाइ प्रक्रिया सुरु भएको उनले जानकारी दिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेम्वाङ र राईसहित एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेविरुद्ध अनुसन्धानपछि गत असोज २२ गते ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
चारै जनाविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने कसुर र मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीसम्बन्धी कसुरको आरोप लगाइएको छ। उनीहरूमाथि लगाइएका आरोपको न्यायिक निरूपण हुन बाँकी छ।
चार प्रतिवादीमध्ये कोषाध्यक्ष जोशी १५ लाख रुपैयाँ र लेखा अधिकृत पाण्डे १२ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्। अध्यक्ष नेम्वाङ र महासचिव राई भने मुद्दा दायर भएपछि अदालतमा उपस्थित भएका थिएनन्।
के हो एन्फामाथिको आरोप ?
सीआईबीको अनुसन्धानअनुसार सन् २०२४ मार्च २१ मा नेपालमा हुनुपर्ने फिफा विश्वकप २०२६ छनोटअन्तर्गत बहराइनसँगको खेल दशरथ रङ्गशालाको मैदान अनुपयुक्त भएको भन्दै बहराइनमा सारिएको विषयमा अनियमितताको आरोप लगाइएको छ।
अनुसन्धानमा रङ्गशालाको मैदान संरक्षण नगरी गैरअन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालन गर्न दिइएको र त्यसपछि बहराइनसँग मिलेमतो गरी नेपालको घरेलु खेल उतै खेल्ने व्यवस्था गरिएको दाबी गरिएको छ।
त्यस्तै, उक्त खेलको टिकट बिक्रीबापत बहराइनले एन्फालाई उपलब्ध गराउनुपर्ने २० हजार अमेरिकी डलर अर्थात् करिब २६ लाख ४७ हजार रुपैयाँ एन्फाको आधिकारिक बैंक खातामा जम्मा नगरी अपचलन गरिएको आरोप पनि छ। उक्त खेलमा नेपाल बहराइनसँग क्रमशः ५–० र ३–० गोलअन्तरले पराजित भएको थियो।
एन्फाको आर्थिक कार्यविधिविपरीत १० लाख रुपैयाँभन्दा माथिको खरिदमा खुला बोलपत्र आह्वान नगरी कोटेसनमार्फत सामान खरिद गरिएको विषय पनि अनुसन्धानको दायरामा परेको छ।
यसैगरी, एसियाली फुटबल महासङ्घ (एएफसी) को ‘एक्स्ट्रा टाइम प्रोजेक्ट’ अन्तर्गत ५० हजार अमेरिकी डलर अर्थात् करिब ६६ लाख ५३ हजार ९०० रुपैयाँको खेलकुद सामग्री खरिद गर्दा एउटै स्वामित्व भएका तीन कम्पनीबीच प्रतिस्पर्धा भएको देखाएर स्वीकृत लागत अनुमानभन्दा बढी मूल्यमा सामान खरिद गरिएको आरोप छ। यसबाट एन्फालाई आर्थिक क्षति पुर्याइएको अनुसन्धानको निष्कर्ष रहेको बताइएको छ।
उक्त आरोपसम्बन्धी मुद्दामा अब अदालतबाट हुने सुनुवाइ र निर्णयले एन्फाको आर्थिक कारोबारमाथि उठेका प्रश्नहरूको न्यायिक निरूपण गर्नेछ।

















प्रतिक्रिया