ट्रेकिङबाट कमाएको पैसाले रक्सी पिए, सामान्य विवादमै साथीको हत्या


पोखरा । कास्कीको धम्पुसका राजेन्द्र पौडेल दसैँअघि ट्रेकिङमा गएका थिए । पर्यटकीय गाउँमा भारी बोकेर कमाएको पैसाले उनले साथीहरूलाई मदिरा र बियर खुवाउने योजना बनाए । गाउँकै चिनजानका साथीहरूलाई रेस्टुरेन्टमा बोलाएर उनले मदिरा सेवन गरे । तर, सँगै बसेर रमाइलो गर्ने उनीहरूको भेटघाट अन्ततः दुःखद घटनामा परिणत भयो । सामान्य विवादबाट सुरु भएको झगडाले राजेन्द्रको ज्यान लियो ।

मदिरा सेवन गर्दै गर्दा राजेन्द्रले नजिकै रहेको मौरीको घार फुटाइदिए । साथीहरूले घार किन फुटाएको भन्दै प्रश्न गरेपछि विवाद सुरु भयो । पटकपटक प्रश्न उठेपछि राजेन्द्रले साथी आशिष गुरुङको खुट्टामा हँसिया प्रहार गरेको र अर्का साथी मिलन विकको घाँटीमा पनि हँसियाले हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यतिबेला झगडा सामान्यजस्तै देखिए पनि विवादले उग्र रूप लिँदै गयो । सबैजना छुट्टिएर आ–आफ्नो घरतिर लागे । तर, मदिराको नशासँगै बढेको आक्रोश र प्रतिशोधको भावनाले घटनालाई थप भयावह बनायो ।

मध्यरातमा घरमै पुगेर कुटपिट

आफूमाथि हँसिया प्रहार भएपछि आशिषले त्यसै नछाड्ने निर्णय गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । राति करिब १२ बजेतिर उनले विक्रम पुन र लिलबहादुर पुनलाई फोन गरेर बोलाए । त्यसपछि अन्य साथीहरूसमेत लिएर उनीहरू राजेन्द्रको घरमा पुगे ।

प्रहरीका अनुसार उनीहरूले राजेन्द्रमाथि भाटा, मुक्का र लात्तीले कुटपिट गरेका थिए । त्यसपछि उनलाई घिसारेर बारीमा पुर्‍याइएको अनुसन्धानबाट खुलेको छ ।

कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार राजेन्द्रको शरीरभरि नीलडाम र चोटपटक देखिएको थियो । उनी नग्न अवस्थामा भेटिएका थिए । राति आमासँग सिरक मागेर बारीमै ओढेको विषय पनि अनुसन्धानका क्रममा खुलेको उनले बताए ।

मध्यरातमा कुटपिट गरेपछि आरोपितहरू आ–आफ्नो घर फर्किएको प्रहरीको भनाइ छ । मदिरा सेवन गरेका कारण परिवारका सदस्यले पनि तत्काल घटनाको गम्भीरता थाहा पाउन सकेनन् । राजेन्द्रकी आमाले उनलाई बाहिरै कम्बल ओढाइदिएकी थिइन् । तर, भोलिपल्ट बिहान उनी मृत अवस्थामा भेटिए ।

पूर्वयोजना नभई आवेगमा घटना भएको प्रहरीको प्रारम्भिक आकलन

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार घटनामा संलग्न व्यक्तिहरू एकै टोलका र सँगै उठबस गर्ने साथीभाइ हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पूर्वरिसइबी वा योजनाबद्ध रूपमा हत्या गर्ने उद्देश्यले घटना गराइएको देखिएको छैन ।

‘हाम्रो घाँटी र खुट्टामा हँसियाले हान्ने, हामी यत्तिकै सहेर बस्ने ?’ भन्ने आवेगले कुटपिट भएको देखिएको कार्कीले बताएका छन् । अत्यधिक मदिरा सेवनपछि सुरु भएको सामान्य विवाद र त्यसपछि बढेको इगोले गम्भीर परिणाम निम्त्याएको उनको भनाइ छ ।

प्रहरीले घटनाको प्रकृति, संलग्न व्यक्तिहरूको बयान तथा घटनास्थलमा भेटिएका प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ । यद्यपि, घटनाको वास्तविक क्रम र दोषको कानुनी निर्धारण अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट टुङ्गिनेछ ।

पाँच जना पक्राउ, पाँच दिनको म्याद थप

घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, मिलन विक र ३८ वर्षीय लिलबहादुर पुन रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

घटना गत कात्तिक ८ गते राति भएको थियो । कात्तिक ९ गते बिहान स्थानीयले बारीको पाटामा राजेन्द्रको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिचोक र जिल्ला प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली घटनास्थल पुगेको थियो । प्रहरी उपरीक्षक कार्की आफैँले अनुसन्धानको नेतृत्व गरेका थिए ।

प्रहरीले घटनामा प्रयोग भएको भनिएका दुई वटा बाँसका भाटा, एउटा दाउरा, एउटा हँसिया तथा बियर र पानीका बोतलसमेत बरामद गरेको जनाएको छ ।

ट्रेकिङ गरेर कमाएको पैसाले साथीहरूलाई मदिरा खुवाउन बोलाएका राजेन्द्रको सामान्य विवादपछि ज्यान गएको यस घटनाले मदिरा सेवनपछि बढ्ने आवेग र प्रतिशोधले कति गम्भीर परिणाम निम्त्याउन सक्छ भन्ने देखाएको छ ।