इरानलाई अमेरिकाको नयाँ सन्देश, उपराष्ट्रपतिले लेखे पत्र


काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानलाई पत्र पठाएको समाचार सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसबारे प्रतिक्रिया दिएका छन्। ट्रम्पले पत्र पठाइएको पुष्टि गर्दै त्यसको विषयवस्तु औषधि, चिकित्सा सामग्री तथा अन्य अत्यावश्यक वस्तुको आपूर्तिसँग सम्बन्धित रहेको बताएका छन्।

‘द वाल स्ट्रिट जर्नल’ मा प्रकाशित समाचारपछि ट्रम्पले पत्रबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनका अनुसार उपराष्ट्रपति भान्सले यस विषयमा आफूसँग राय मागेका थिए। त्यसपछि आफूले मानवीय सहयोगका लागि राहत सामग्री पुर्‍याउन सहमति दिएको ट्रम्पले बताएका छन्।

“उनीहरूलाई चिकित्सा सामग्री र अन्य आवश्यक वस्तु पुर्‍याउन सहयोग चाहिएको छ। जेडी भान्सले मसँग मेरो राय सोधे। मैले भनेँ, यदि तपाईं त्यसो गर्न चाहनुहुन्छ भने ठीक छ। मुख्य कुरा बिरामी मानिसहरूलाई सहयोग गर्न राहत सामग्री पुर्‍याउनु हो,” ट्रम्पले भने।

यसअघि ‘द वाल स्ट्रिट जर्नल’ ले बुधबार अमेरिकी अधिकारी तथा यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै उपराष्ट्रपति भान्सले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईलाई पत्र पठाएको समाचार प्रकाशित गरेको थियो। उक्त पत्रको उद्देश्य इरानसँग शान्ति वार्ता पुनः सुरु गर्ने रहेको समाचारमा उल्लेख गरिएको थियो।

यद्यपि, मोहसिन रेजाई वा इरानी विदेश मन्त्रालयले भान्सबाट पत्र प्राप्त भएको समाचारबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

यसबीच पछिल्लो एक सातामा वरिष्ठ क्षेत्रीय अधिकारीहरूको इरान भ्रमण बढेको बताइएको छ। यसले इरानसँग सम्बन्धित कूटनीतिक गतिविधि तीव्र बनेको सङ्केत गरेको छ।

तर, अमेरिकी उपराष्ट्रपतिको पत्रले शान्ति वार्ता अघि बढाउन कस्तो भूमिका खेल्छ र इरानको प्रतिक्रिया के आउँछ भन्ने विषय अझै स्पष्ट हुन बाँकी छ।