भुटानमा हिमताल फुट्दा भीषण बाढी, प्रसिद्ध तातोपानी कुण्ड बगायो, भारतका दुई राज्यमा हाई अलर्ट


काठमाडौं । भुटानको गासा जिल्लामा बिहीबार राति सिन्ताफु हिमताल फुटेपछि आएको भीषण बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीको तीव्र बहावले गासाको प्रसिद्ध तातोपानी कुण्ड ‘गासा त्शाचु’ पूर्ण रूपमा बगाएको छ भने विभिन्न सडक तथा पूर्वाधारमा समेत क्षति पुगेको छ।

बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्ड भत्किएपछि यातायात सेवा अवरुद्ध भएको छ। त्यस्तै, लाआ जोड्ने सडकमा पनि क्षति पुगेको छ। पुनाखा जिल्लामा सौर्य ऊर्जाबाट सञ्चालन हुँदै आएको सिँचाइ प्रणालीसमेत बाढीले नष्ट गरेको छ। हालसम्म मानवीय क्षतिको विवरण भने सार्वजनिक भएको छैन।

हिमताल फुटेपछि संकोश नदीमा पानीको सतह तीव्र रूपमा बढेको छ। उक्त नदी भुटान हुँदै भारतको पश्चिम बंगाल र असम राज्यमा प्रवेश गर्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुवै राज्यका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार पश्चिम बंगालको अलिपुरद्वार र कुचबिहार तथा असमको धुबरी क्षेत्रमा विशेष निगरानी बढाइएको छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै अलिपुरद्वारका १० हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थान तथा राहत शिविरमा सारिएको छ।

प्रशासनले साइरन बजाएर सर्वसाधारणलाई सचेत गराइरहेको छ। साथै, उद्धार तथा राहत कार्यका लागि राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) र आपत्कालीन व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको छ।

प्राप्त विवरणअनुसार बिहीबार राति करिब ८ः१५ बजे सिन्ताफु हिमतालबाट अचानक पानी बाहिर निस्किएको थियो। उक्त ताल भुटानका १७ वटा अति संवेदनशील हिमतालमध्ये एक मानिन्छ। हिमतालबाट आएको पानीको तीव्र बहावले स्थानीय सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको छ। घटनाको कारण, बाढीको परिमाण र कुल क्षतिको विवरण संकलन तथा मूल्यांकन गर्ने काम भइरहेको छ।

प्रारम्भिक चेतावनीअनुसार हिमताल फुटेर आएको बाढी ६ देखि ८ घण्टाभित्र भारत–भुटान सीमासम्म पुग्न सक्ने आकलन गरिएको थियो। बाढीको पानी मोछु नदी हुँदै संकोश नदीमा मिसिएर भारततर्फ बग्ने भएकाले नदी आसपासका बस्तीमा जोखिम बढेको छ।