सिड्नी गोलीकाण्डमा साहस देखाएका विकासलाई विशेष सम्मान


काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डका क्रममा असाधारण साहस र मानवीयता प्रदर्शन गरेका नेपाली मूलका प्रहरी अधिकारी विकास भारती राष्ट्रिय वीरता पुरस्कारबाट सम्मानित भएका छन्।

न्यु साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीमा कार्यरत सिनियर कन्स्टेबल भारतीलाई सन् २०२५ अक्टोबरमा सिड्नीको क्रोयडन पार्कमा भएको गोलीकाण्डका क्रममा देखाएको बहादुरीका लागि सन् २०२६ को संयुक्त राष्ट्रिय वीरता पुरस्कार प्रदान गरिएको हो।

अस्ट्रेलियाको राजधानी क्यानबेरामा बुधबार आयोजित विशेष समारोहमा प्रहरी महासंघले उनलाई उक्त पुरस्कार प्रदान गरेको हो। भारती हाल बुरवुड प्रहरी क्षेत्रीय कमान्डमा कार्यरत छन्।

सन् २०२५ अक्टोबर ५ मा क्रोयडन पार्कमा गोलीकाण्ड हुँदा भारती घटनास्थल पुग्ने पहिलो प्रहरी अधिकारीमध्ये एक थिए। घटनाका क्रममा आफू पनि जोखिममा परेका बेला उनले आफ्नो सुरक्षाभन्दा सहकर्मी र सर्वसाधारणको सुरक्षालाई प्राथमिकता दिएका थिए।

उनले घटनास्थलमा रहेका कनिष्ठ सहकर्मीलाई सुरक्षित स्थानमा पठाउनुका साथै घाइते सर्वसाधारणको उद्धारमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको यही साहसिक कदम र कर्तव्यप्रतिको समर्पणको उच्च मूल्याङ्कन गर्दै उनलाई राष्ट्रिय स्तरको वीरता पुरस्कार प्रदान गरिएको हो।

पुरस्कार ग्रहणपछि भारतीले सन् २०१५ मा नेपालबाट अस्ट्रेलिया आउँदा आफूले एक दिन यस्तो सम्मान प्राप्त गर्ने कल्पनासमेत नगरेको बताए।

उनले पुरस्कार आफ्नो नाममा भए पनि प्रहरी सेवा कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने उल्लेख गरे। सहकर्मीको सहयोग, तालिम र विश्वासका कारण आफूले जिम्मेवारी पूरा गर्न सकेको भन्दै उनले यो सम्मान आफ्ना सहकर्मीसँग पनि बाँड्न चाहेको बताए।

यसैबीच, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले संघीय संसद्मा भारतीको साहस र कर्तव्यप्रतिको समर्पणको प्रशंसा गरेका छन्।

न्यु साउथ वेल्स प्रहरी आयुक्त माल लान्यनले पनि क्रोयडन पार्कको जोखिमपूर्ण घटनामा भारतीले देखाएको बहादुरीको प्रशंसा गरेका छन्। उनले भारतीले आफ्नो सुरक्षाभन्दा अरूको सुरक्षालाई प्राथमिकता दिएको बताएका छन्।

भारतीले आफूलाई स्वागत गर्ने र समाजका लागि योगदान गर्ने अवसर प्रदान गरेको देशको सेवा गर्न पाउँदा भाग्यमानी महसुस गरेको बताएका छन्। प्रहरीको पोसाक लगाउन पाउनु र समर्पित सहकर्मीहरूसँग काम गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको उनको भनाइ छ।

नेपालबाट अस्ट्रेलिया पुगेर प्रहरी सेवामा आबद्ध हुँदै आफ्नो साहस र कर्तव्यनिष्ठाका कारण अन्तर्राष्ट्रिय स्तरमा सम्मानित हुन सफल भारतीको उपलब्धिलाई नेपाली समुदायका लागि पनि गौरवको विषयका रूपमा हेरिएको छ।