सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि निरन्तर पहिरो खस्दा इङ्खु खोलामा ठूलो जोखिम सिर्जना भएको छ। पहिरोका कारण माटो र ढुङ्गा खोलामा खस्दा पानीको बहाव प्रभावित बनेको छ भने खोला पूर्ण रूपमा थुनिन सक्ने खतरा बढेको छ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमन थापा मगरका अनुसार पहिरोका कारण खोलाको बहावमा सामान्य अवरोध सिर्जना भए पनि हालसम्म पानीको बहाव पूर्ण रूपमा रोकिएको छैन। तर पहिरो खस्ने क्रम नरोकिएकाले खोला थुनिन सक्ने सम्भावना रहेको उनले बताएका छन्।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले चेरेम गाउँमुनिबाट निरन्तर पहिरो खस्दा इङ्खु नदीमा अस्थायी बाँध बनेको जानकारी दिएका छन्।
उनका अनुसार उक्त अस्थायी बाँध फुटेमा एक्कासि पानीको सतह र बहाव बढ्न सक्ने जोखिम छ। त्यसैले इङ्खुखोला, दूधकोशी र सप्तकोशी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेको र पहिरो खस्ने क्रमसमेत जारी रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सुरक्षित रहन तथा सतर्कता अपनाउन आग्रह गरिएको छ।

















प्रतिक्रिया