जनकपुरधाम । बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा प्रहरीको गोली लागेर एक किशोर गम्भीर घाइते भएका छन्। घटनापछि गाउँपालिकाको अवस्था तनावपूर्ण बनेको छ।
घाइते हुनेमा स्थानीय १६/१७ वर्षीय आदित्य पासवान रहेका छन्। जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार उनको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ।
अस्पतालमा आवश्यक सेवा–सुविधा, स्वास्थ्यकर्मी तथा स्रोतसाधनको व्यवस्था नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका थिए। सोही विषयलाई लिएर विवाद बढ्दै जाँदा दुई पक्षबीच झडप भएको हो।
स्थानीयका अनुसार उनीहरूले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरिरहेका बेला प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेपछि स्थिति थप तनावपूर्ण बनेको उनीहरूको भनाइ छ।
उक्त अस्पताल उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको थियो। दिउँसो १ बजेका लागि निर्धारित उद्घाटन कार्यक्रम विवाद बढेपछि स्थगित भएको छ भने सांसद बास्कोटा कलैयामै रोकिएकी छन्।
प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार कार्यक्रम सुरु हुनुअघि नै विवाद चर्किएपछि गोली चलेको हो।
झडपपछि आक्रोशित प्रदर्शनकारीले करिब एक दर्जन सवारीसाधनमा आगजनी गरेको प्रशासनले जनाएको छ। घटनास्थलको अवस्था नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारीले बताएका छन्।
अस्पताल उद्घाटनको विषयबाट सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि स्थानीय क्षेत्रमा त्रास र तनाव बढेको छ। घटनाको वास्तविकता, प्रहरीको बल प्रयोग र गोली चल्नुको परिस्थितिबारे थप अनुसन्धान तथा छानबिन आवश्यक देखिएको छ।

















प्रतिक्रिया