काठमाडौं । जर्मनीमा महँगी, सरकारी खर्च कटौती तथा अनिवार्य सैन्य सेवाको विरोधमा भइरहेको जेनजी प्रदर्शन हिंसात्मक बनेको छ। शनिबार राति जर्मनीको वित्तीय राजधानी फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन्।
फ्र्याङ्कफर्टबाहेक बर्लिन, कोलोन र ह्याम्बर्गलगायत सहरमा पनि हिंसात्मक घटना भएका छन्। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो।
प्रदर्शनकारीले पटाका, ढुङ्गा र बोतल प्रहार गरेका थिए। उनीहरूले आपत्कालीन सेवामा खटिएका कर्मचारीलाई समेत निशाना बनाएका थिए।
यसअघि हजारौँ युवाले ‘जेन जी रेगेल्ट’ नामक अभियान समूहको नेतृत्वमा प्रदर्शन गरेका थिए। जर्मन भाषाको उक्त नाराको अर्थ ‘जेन जीले अब जिम्मेवारी लिनेछ’ भन्ने हुन्छ।
प्रदर्शनकारीले विद्यालयमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, बढ्दो जीवनयापन खर्च नियन्त्रण गर्नुपर्ने, सरकारी खर्च कटौती रोक्नुपर्ने र अनिवार्य सैन्य सेवाको व्यवस्था खारेज गर्नुपर्ने माग राखेका छन्।
फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार प्रदर्शनमा करिब १८ हजार मानिस सहभागी भएका थिए। यो संख्या आयोजकले सार्वजनिक गरेको अनुमानभन्दा झन्डै आधा हो।
समाचार संस्था एएफपीका अनुसार फ्र्याङ्कफर्टको प्रमुख व्यापारिक सडकको ठूलो हिस्सा प्रहरीले बन्द गरेको थियो। प्रहरी प्रवक्ताले सहरका विभिन्न स्थानबाट केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएका छन्।
‘जेन जी रेगेल्ट’ की प्रवक्ता लीना फ्रेडरिकले प्रदर्शनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताका लागि आवाज उठाउनु रहेको बताएकी छन्।
उनले स्वास्थ्य र शिक्षा प्रणालीलाई पर्याप्त सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिँदै अनिवार्य सैन्य सेवाको विरोध गरेकी छन्।
दिनभर भएका प्रदर्शन अधिकांश शान्तिपूर्ण रहे पनि रात परेसँगै विभिन्न सहरमा हिंसा र प्रहरीसँग झडपका घटना भएका थिए।

















प्रतिक्रिया