गाँजा लोड गरिरहेको अवस्थामा पाँच जना पक्राउ, नियन्त्रणमा लिन हवाई फायर


काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडामा प्रहरीले दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गरिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ। तस्करीमा संलग्न भएको आशङ्कामा रहेका उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो।

बिहीबार बिहान करिब ३ बजे गोप्य सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले दुईवटा गाडीमा गाँजा लोड भइरहेको फेला पारेको थियो। प्रहरीलाई देखेपछि गाडी लिएर भाग्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै गाडीबाट आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद भएको छ। गाँजा ओसारपसारका लागि प्रयोग गरिएको आशङ्कामा दुईवटा स्कार्पियो पनि नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारतको बिहारस्थित मधुबनीका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्।

त्यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार रामसागर र राजकुमार गाडी चालक हुन्।

प्रहरीले बरामद गाँजा र नियन्त्रणमा लिइएका गाडीबारे आवश्यक अनुसन्धान अघि बढाएको छ। घटनामा पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।