नयाँदिल्ली । भारतको पूर्वी तटतर्फ एक साताभन्दा कम अवधिमा दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी जारी गरिएको छ। ‘मुरासु’ नाम दिइएको चक्रवात सोमबार मध्यरात वा मङ्गलबार बिहान तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको भारतीय मौसम विज्ञान विभागले जनाएको छ।
मौसम विभागका अनुसार चक्रवातले दक्षिणी आन्ध्र प्रदेशको तट पार गर्ने क्रममा प्रतिघण्टा १०० देखि ११० किलोमिटरको गतिमा हावा चल्न सक्छ। हावाको अधिकतम गति प्रतिघण्टा १२० किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ।
यो चक्रवात नेल्लोर र नरसापुरबीच पर्ने ओङ्गोल सहरनजिकै तटमा प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ। चक्रवातको प्रभावले तटीय क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा र तीव्र हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
अघिल्लो चक्रवातपछि फेरि जोखिम
अघिल्लो चक्रवातको तुलनामा ‘मुरासु’ केही कमजोर हुने अपेक्षा गरिएको भए पनि यसले प्रभावित क्षेत्रमा थप भारी वर्षा गराउन सक्ने चेतावनी दिइएको छ।
यसअघि गत बुधबार आएको ‘अर्नब’ चक्रवातका कारण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा भारी वर्षा भएको थियो। उक्त घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको थियो। लगातार अर्को चक्रवात आउन लागेपछि प्रभावित क्षेत्रका बासिन्दा पुनः जोखिममा परेका छन्।
घर, कृषि र पूर्वाधारमा क्षति पुग्न सक्ने
मौसम विभागले तीव्र हावाहुरीका कारण कमजोर संरचनामा बनेका घरमा क्षति पुग्न सक्ने जनाएको छ। घरका छाना उड्ने, रूख ढल्ने तथा अन्य भौतिक संरचनामा क्षति पुग्ने जोखिम रहेको चेतावनी दिइएको छ।
चक्रवातका कारण खेतमा रहेका बाली, फलफूलका बगैँचा तथा अन्य कृषि उत्पादनमा समेत ठूलो क्षति पुग्न सक्ने अनुमान गरिएको छ। भारी वर्षाले तटीय क्षेत्रमा जनजीवन प्रभावित हुन सक्ने भएकाले स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।
बङ्गालको खाडी र उत्तरी हिन्द महासागर क्षेत्रमा चक्रवातको जोखिम नियमित रहने गर्छ। उत्तरी अटलान्टिक महासागरमा यस्ता आँधीलाई ‘हरिकेन’ र प्रशान्त महासागरमा ‘टाइफुन’ भनिन्छ।
एएफपीका अनुसार लगातार दोस्रो चक्रवातको सम्भावनाले भारतको पूर्वी तटीय क्षेत्रका बासिन्दामा पुनः जोखिम बढाएको छ।

















प्रतिक्रिया