‘विमानमा समस्या छ’ भन्दै चिच्याएकी थिइन् पाइलट, त्यसपछि भयो दुर्घटना


न्युयोर्क । अमेरिकाको फ्लोरिडामा भएको विमान दुर्घटनाअघि पाइलट र हवाई ट्राफिक नियन्त्रण केन्द्रबीच भएको अन्तिम संवाद सार्वजनिक भएको छ। विमानमा हिउँ जमिरहेको र तीव्र हावाको सामना गर्नुपरेको जानकारी गराएकी सहचालकले दुर्घटनाको केही क्षणअघि विमान तीव्र गतिमा तल झरिरहेको भन्दै आपत्कालीन सन्देश दिएकी थिइन्।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले आइतबार भएको दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक विवरणअनुसार उडानका क्रममा विमानमा हिउँ जमेको र हावाको अशान्तिका कारण विमान अस्थिर भएको जानकारी सहचालकले गराएकी थिइन्।

उडानका बेला बाहिरी तापक्रम माइनस ४७ डिग्री सेल्सियस रहेको र विमानमा हल्का हिउँ जमिरहेको उनले बताएकी थिइन्। मध्यमस्तरको हावाको अशान्तिका कारण विमान करिब ७०० फिटसम्म तलमाथि भइरहेको पनि उनले हवाई ट्राफिक नियन्त्रण केन्द्रलाई जानकारी गराएकी थिइन्।

त्यसपछि विमानले थप उचाइमा जान अनुमति मागेको थियो। तर, केही क्षणमै विमान तीव्र गतिमा तल झर्न थालेको थियो।

‘हामी प्रतिमिनेट २० हजार फिट तल झरिरहेका छौँ’

विमानको अन्तिम हवाई सञ्चार रेकर्डअनुसार सहचालक नथालिया गाडेल्हा फिल्गुएरासले आपत्कालीन सङ्केत ‘मे डे’ जारी गर्दै विमान तीव्र गतिमा तल झरिरहेको जानकारी गराएकी थिइन्।

उनले हवाई ट्राफिक नियन्त्रण केन्द्रलाई भनेकी थिइन्, ‘हामी प्रतिमिनेट १० हजार फिटको गतिमा तल झरिरहेका छौँ।’

केही क्षणपछि उनले विमान प्रतिमिनेट २० हजार फिटको गतिमा तल झरिरहेको र यसको गति विमानको क्षमताभन्दा बढी भएको बताएकी थिइन्। त्यसपछि उनले आत्तिँदै भनेकी थिइन्, ‘हामी जमिनमा ठोक्किन लागेका छौँ।’

विमानको अन्तिम सञ्चारमा उनले ‘हामीसँग समय सकियो’ भनेकी थिइन्। उडान तथ्याङ्कअनुसार विमान एक मिनेटमै करिब २७ हजार फिट तल झरेको थियो। त्यसपछि विमानको उडान ट्र्याकिङ तथ्याङ्क उपलब्ध हुन छाडेको थियो।

विमानमा हिउँ जम्नु दुर्घटनाको सम्भावित कारण

एनटीएसबीका अनुसन्धानकर्ताले दुर्घटनाको कारण पत्ता लगाउन मौसमको अवस्थालाई प्रमुख विषय बनाएका छन्। विमान करिब ३५ हजार फिटको उचाइमा उडिरहेका बेला मौसम कस्तो थियो र त्यसले उडानमा कस्तो प्रभाव पार्‍यो भन्नेबारे अनुसन्धान भइरहेको छ।

दुर्घटनास्थल आसपास विभिन्न स्थानमा आँधीबेहरी सक्रिय थिए। विमान दुर्घटनामा पर्नुभन्दा केही मिनेटअघि शक्तिशाली आँधीको क्षेत्रबाट गुज्रिएको बताइएको छ। यद्यपि, आँधीले दुर्घटनामा प्रत्यक्ष भूमिका खेलेको थियो वा थिएन भन्ने पुष्टि भइसकेको छैन।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार विमानका पखेटा तथा अन्य भागमा हिउँ जम्दा विमानको तौल बढ्न सक्छ। यसले उडानका लागि आवश्यक उर्ध्वबल घटाउनुका साथै वायु प्रतिरोध बढाउन सक्छ। परिणामस्वरूप विमानको गति घट्ने, उचाइ कायम राख्न कठिन हुने र नियन्त्रणमा समस्या आउन सक्ने जोखिम हुन्छ।

एनटीएसबीका अनुसार दुर्घटनाअघि नै विमानका केही भाग छुट्टिएको हुन सक्ने प्रमाणसमेत भेटिएको छ। दुर्घटनास्थलमा ठूलो खाल्डो बनेको थियो भने विमानका अवशेष सडकभरि छरिएका थिए।

एनटीएसबीका वरिष्ठ अनुसन्धानकर्ता टिम मोनभिलले दुर्घटनास्थलमा बनेको खाल्डोबाट विमानका ठूला अवशेष निकाल्नु अनुसन्धानको प्रमुख चुनौती रहेको बताएका छन्।

दुर्घटनामा दुई बालबालिकासहित नौ जनाको मृत्यु

फ्लोरिडाको पाम बिच काउन्टीस्थित मिलिटरी ट्रेल सडकमा विमान खसेको थियो। दुर्घटनापछि सडकमा ठूलो खाल्डो बनेको र विमानका अवशेषमा आगो लागेको थियो। फ्लोरिडाका गभर्नर रोन डेसान्टिसले घटनालाई विनाशकारी भन्दै विमान क्षेप्यास्त्रजस्तै गरी खसेको बताएका थिए।

दुर्घटनामा विमानमा सवार दुई बालबालिकासहित नौ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा टेक्सासका व्यवसायी एडम रोबिन्सन, उनकी पत्नी हेलन सार्प र उनीहरूका दुई सन्तान चार वर्षीया एम्मा तथा दुई वर्षीय चार्ली रहेका छन्। परिवारका सदस्यले उनीहरूको पहिचान गरेका हुन्।

विमानमा बालबालिकाको हेरचाह गर्ने अनिता मारिया सेटिना, राचेल रिड र चार्मी फेहर पनि सवार थिए। उनीहरूका परिवारले समेत दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन्।

विमानकी सहचालक २० वर्षीया नथालिया गाडेल्हा फिल्गुएरासको पनि मृत्यु भएको छ। अर्का पाइलटको पहिचान भने सार्वजनिक गरिएको छैन। दुर्घटनाका क्रममा जमिनमा रहेका एक व्यक्तिको खुट्टामा चोट लागेको एनटीएसबीले जनाएको छ।

१७ वर्षमै पाएकी थिइन् पाइलट लाइसेन्स

दुर्घटनामा मृत्यु भएकी सहचालक फिल्गुएरासले १७ वर्षको उमेरमै पाइलट लाइसेन्स प्राप्त गरेकी थिइन्। उनले सवारी चालक अनुमतिपत्र लिनुअघि नै विमान उडाउन सिकेकी थिइन्। उनले एक हजार ३०० घण्टाभन्दा बढी उडान अनुभव हासिल गरिसकेको विवरणमा उल्लेख छ।

प्रारम्भिक प्रतिवेदन ३० दिनभित्र आउने अपेक्षा

एनटीएसबीले दुर्घटनाको प्राविधिक कारण पत्ता लगाउन विमानका अवशेष, मौसमसम्बन्धी विवरण र हवाई सञ्चार रेकर्डको अध्ययन गरिरहेको छ।

विमानमा ककपिट आवाज रेकर्डर जडान गरिएको अभिलेख भए पनि दुर्घटनाको समयमा उक्त उपकरण विमानमा थियो वा थिएन भन्ने स्पष्ट भइसकेको छैन। त्यस्तै, दुर्घटनामा उडान तथ्याङ्क रेकर्डर नष्ट भएको हुन सक्ने आशङ्का गरिएको छ।

एनटीएसबीले दुर्घटनाको प्रारम्भिक प्रतिवेदन ३० दिनभित्र सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। दुर्घटनाको वास्तविक कारण र सम्भावित जिम्मेवारीबारे निष्कर्षसहितको अन्तिम प्रतिवेदन तयार हुन भने एकदेखि दुई वर्षसम्म लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।

दुर्घटनाको कारणबारे अहिले नै अन्तिम निष्कर्ष निस्किएको छैन। मौसम, विमानमा जमेको हिउँ र उडानका क्रममा देखिएको असामान्य अवस्थाबीचको सम्बन्धबारे एनटीएसबीको अनुसन्धानपछि थप तथ्य सार्वजनिक हुनेछन्।