दाङ । दाङका विभिन्न सामुदायिक वन तथा जङ्गलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा जिल्लाका विभिन्न स्थानबाट ती बन्दुक बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरी टोलीले बबई गाउँपालिका–५ खयरभट्टीस्थित सिमौरा सामुदायिक वनबाट पाँच नाल बन्दुक बरामद गरेको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बंगलाचुली गाउँपालिका–२ स्थित सुनछहरी सामुदायिक वनबाट एक नाल र प्रहरी चौकी हाँसिपुरको टोलीले बंगलाचुली गाउँपालिका–८ पाँचपोखरीस्थित न्यू कालिका सामुदायिक वनबाट एक नाल बन्दुक फेला पारेको छ।
यसैगरी, प्रहरी चौकी पुरन्धाराको टोलीले बबई गाउँपालिका–२ स्थित सुवाखोरे सामुदायिक वनबाट एक नाल बन्दुक बरामद गरेको छ। अस्थायी प्रहरी पोस्ट कालाकाटेको टोलीले राप्ती गाउँपालिका–१ रौसिङखोला बगरनजिकको झाडीबाट पाँच नाल तथा अस्थायी प्रहरी पोस्ट गर्तीको टोलीले लमही नगरपालिका–३ स्थित नारायणेश्वर सामुदायिक वनबाट एक नाल बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका १४ नाल बन्दुकमध्ये १३ वटा चालु अवस्थामा छन् भने एउटा बिग्रिएको अवस्थामा छ।
विभिन्न वन क्षेत्रमा लुकाइएका यी हतियार कसले र कुन प्रयोजनका लागि राखेको थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

















प्रतिक्रिया