काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रण कार्यक्रमतर्फ ३४ दशमलव ९ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ। यस अवधिमा विनियोजित त्रैमासिक बजेटको २३ दशमलव ४ प्रतिशत मात्रै खर्च भएको छ।
मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार नदी नियन्त्रण कार्यक्रमका लागि चालु आर्थिक वर्षमा पाँच अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
पहिलो त्रैमासिकका लागि ६२ करोड ७४ लाख रुपैयाँ छुट्याइएकोमा १४ करोड ७० लाख रुपैयाँ खर्च भएको महाशाखाले जनाएको छ। बजेट खर्च २३ दशमलव ४ प्रतिशत हुँदा भौतिक प्रगति भने ३४ दशमलव ९ प्रतिशत पुगेको हो।
पहिलो तीन महिनाको अवधिमा दुई दशमलव नौ किलोमिटर तटबन्ध निर्माण गरिएको छ। यसैगरी, एक हेक्टर जग्गा उकास गरिएको प्रमुख थापाले जानकारी दिएका छन्।
महाशाखाका अनुसार केही आयोजनाले निर्धारित त्रैमासिक लक्ष्यभन्दा बढी भौतिक प्रगति हासिल गरेका छन्। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन) ले निर्धारित लक्ष्यको १६० दशमलव ८ प्रतिशत प्रगति गरेको छ।
त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत, लमही (दाङ) ले ८६ दशमलव ५ प्रतिशत, कञ्चनपुरले ८२ दशमलव ५ प्रतिशत र जनकपुर (धनुषा) ले ८२ दशमलव ३ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन्।
नदी नियन्त्रण कार्यक्रमअन्तर्गत तटबन्ध निर्माण तथा जग्गा उकासका काम सञ्चालन हुँदै आएका छन्। पहिलो त्रैमासिकको प्रगतिअनुसार भौतिक कामको उपलब्धि बजेट खर्चको प्रतिशतभन्दा बढी देखिएको मन्त्रालयले जनाएको छ।

















प्रतिक्रिया