काठमाडौँ । मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) अन्तर्गत निर्माणाधीन सुखानी पक्की पुलको ठेक्का सम्झौता सडक डिभिजन कार्यालय इलामले अन्त्य गरेको छ। निर्माण सुरु भएको लामो समयसम्म पनि काम अघि नबढेपछि कार्यालयले ठेक्का तोड्ने निर्णय गरेको हो।
सडक डिभिजन कार्यालय इलामले सार्वजनिक सूचना जारी गर्दै पुल निर्माणको ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी दिएको छ।
कार्यालयका अनुसार पुल निर्माणका लागि करिब १४ वर्ष चार महिनाअघि काठमाडौँस्थित स्काई–अजम्बर–शिवराम जेभीसँग सम्झौता भएको थियो। एक करोड ६२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको उक्त कम्पनीले २०७२ सालदेखि काम नगरी निर्माणस्थल छाडेको थियो।
सम्झौताअनुसार निर्माण कार्य पूरा गर्नुपर्ने भए पनि लामो समयसम्म काम अघि नबढेपछि कार्यालयले उक्त ठेक्कालाई रुग्ण ठेक्काका रूपमा अन्त्य गरेको जनाएको छ।
ठेकेदार कम्पनीले सम्झौताबमोजिमको दायित्व पूरा नगरेपछि ठेक्का सम्झौता तोडिएको कार्यालयको भनाइ छ। साथै, कम्पनीविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
करिब डेढ दशकदेखि अधुरो रहेको सुखानी पुलको ठेक्का अन्त्य भएसँगै अब पुल निर्माणका लागि नयाँ प्रक्रिया कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।


















प्रतिक्रिया