विवादमा तानिएपछि न्यायाधीश हरि फुयाल बिदामा


काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल तिहार बिदापछि मात्रै अदालत फर्किने गरी बिदामा बसेका छन्। सर्वोच्च अदालत प्रशासनका अनुसार उनले मंगलबारदेखि शुक्रबारसम्मका लागि बिदा लिएका हुन्।

शुक्रबारपछि तिहार बिदा सुरु हुने भएकाले उनी आगामी ३० कात्तिकमा मात्रै अदालतमा हाजिर हुनेछन्। तिहारका कारण आगामी साताभर अदालतमा सार्वजनिक बिदा रहनेछ।

उच्चपदस्थ अधिकारीहरूसँग सेटिङ मिलाउने प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग न्यायाधीश फुयालले होटल हिमालयमा भेटेको विवरण सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए। उक्त विवरण सार्वजनिक भएसँगै फुयालको भेटघाट र त्यसको न्यायिक प्रभावबारे प्रश्न उठेको थियो।

विवाद चर्किएपछि न्यायाधीश फुयालले सापकोटासँग भेट भएको स्वीकार गर्दै त्यसका कारण आफूले हेरेका विचाराधीन मुद्दामा कुनै प्रभाव नपरेको स्पष्टीकरण दिएका थिए।

यस प्रकरणमा प्रश्न उठिरहेका बेला फुयालले तिहार बिदासम्म अदालतमा अनुपस्थित रहने गरी बिदा लिएका हुन्।