काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपक्षी दलहरूको बैठकले गरेका निर्णयबारे जानकारी गराएका छन्।
मंगलबार दिउँसो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा आङ्देम्बेले सोमबार बसेको विपक्षी दलहरूको बैठकका निर्णयबारे जानकारी गराएका हुन्।
सोमबार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाललगायत विपक्षी दलहरूको बैठक बसेको थियो। बैठकले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको थियो।
विपक्षी दलहरूले सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश, कर्मचारीतन्त्रमा बढ्दो त्रास तथा सरकारको कार्यशैलीलगायतका विषयमा संसद्मा छलफल गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
यिनै विषयमा संसदीय छलफल र सरकारको जवाफदेहिता सुनिश्चित गर्न संसद् बैठक तत्काल बोलाउनुपर्ने विपक्षी दलहरूको निष्कर्ष थियो। सोही निर्णयबारे आङ्देम्बेले सभामुख अर्याललाई जानकारी गराएका हुन्।

















प्रतिक्रिया