काठमाडौँ । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार काठमाडौँ आइपुगेका छन्। भारतले उनलाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेपछि उनी कार्यभार सम्हाल्न नेपाल आएका हुन्।
भारतले दलेलाको नाम राजदूतका लागि प्रस्ताव गरेको थियो। नेपाल सरकारले उनको नियुक्तिमा सहमति (एग्रिमो) दिएपछि भारतले औपचारिक रूपमा नियुक्त गरी नेपाल पठाएको हो।
यसअघि नेपालका लागि भारतीय राजदूत रहेका नवीन श्रीवास्तवले आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएपछि उनको स्थानमा दलेलालाई नियुक्त गरिएको हो।
दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए। उनले आफ्नो कूटनीतिक सेवा इजरायलबाट सुरु गरेका हुन्। त्यसपछि ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।
उनले भुटानका लागि भारतीय राजदूतका रूपमा समेत काम गरिसकेका छन्। विभिन्न देशमा कूटनीतिक अनुभव हासिल गरेका दलेलाको नेपाल आगमनलाई दुई देशबीचको सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नयाँ राजदूत पठाएको हो। उनको आगमनसँगै नेपाल–भारत कूटनीतिक सम्बन्ध र उच्चस्तरीय भ्रमणसम्बन्धी गतिविधिमा थप चासो बढेको छ।

















प्रतिक्रिया