काठमाडौँ । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले पूर्व–पश्चिम राजमार्गसहित राष्ट्रिय राजमार्गका विभिन्न सडक आयोजनामा देखिएका अवरोध तत्काल हटाएर निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिएका छन्।
मंगलबार काठमाडौँमा सभापति गजुरेलको संयोजकत्वमा बसेको समितिको बैठकमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्डको प्रगति, निर्माणमा देखिएका समस्या र सम्बन्धित निकायको भूमिकाबारे विस्तृत छलफल भएको थियो।
बैठकमा पूर्वाधार विकास समिति सदस्य राजकिशोर महतो, मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतो, सडक विभागका महानिर्देशक डा. विजय जैशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, कमला–ढल्केबर–बागमती आयोजना प्रमुख राजेश कुमार दास तथा नागढुङ्गा–मुग्लिन पश्चिम खण्ड आयोजना प्रमुख सजना अधिकारीलगायत सम्बन्धित निकायका प्रतिनिधि सहभागी थिए।
विद्युत् पोल स्थानान्तरण गर्न एकदेखि दुई महिनाको समय
समितिले सडक निर्माणमा प्रमुख अवरोधका रूपमा देखिएका विद्युत् पोल स्थानान्तरणको काम निश्चित समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ।
निर्णयअनुसार पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केबर–बागमती सडक खण्डमा रहेका विद्युत् पोल दुई महिनाभित्र स्थानान्तरण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई भनिएको छ। त्यस्तै, नागढुङ्गा–मुग्लिन सडक खण्डमा रहेका विद्युत् पोल एक महिनाभित्र सार्न निर्देशन दिइएको छ।
विद्युत् पोल स्थानान्तरणका लागि आवश्यक पर्ने साइट समयमै उपलब्ध गराउन सडक विभागलाई पनि समितिले निर्देशन दिएको छ।
त्यसैगरी, बुटवल–गोरुसिङ्गे सडक खण्डमा रहेका विद्युत् पोल दुई महिनाभित्र स्थानान्तरण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको छ। उक्त कामका लागि आवश्यक साइट उपलब्ध गराउन सडक विभागलाई समेत भनिएको छ।
रुख कटानको समस्या समाधान गर्न पहल
राजमार्गका विभिन्न खण्डमा रुख कटान हुन नसक्दा सडक निर्माण प्रभावित भइरहेको विषयलाई पनि समितिले गम्भीरतापूर्वक लिएको छ।
रुख कटानसम्बन्धी समस्या शीघ्र समाधान गर्न कृषि तथा वन तथा वातावरण मन्त्रालयलाई आवश्यक पहल गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।
सडक निर्माणका क्रममा सरकारी निकायबीच समन्वयको अभाव, विद्युत् पोल स्थानान्तरण र रुख कटानजस्ता समस्याले आयोजनाको काममा ढिलाइ भइरहेको समितिको निष्कर्ष छ। त्यसैले सम्बन्धित निकायलाई जिम्मेवार र जवाफदेही भएर काम गर्न निर्देशन दिइएको हो।
बैठकमा राष्ट्रिय गौरव तथा रणनीतिक महत्त्वका सडक आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न अन्तरनिकाय समन्वय प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो। निर्माणमा देखिएका अवरोध हटाएर आयोजनाको काम तीव्र गतिमा अघि बढाउन समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
















प्रतिक्रिया