काठमाडौँ । भारतीय विदेशसचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौँ आइपुगेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्भावित भारत भ्रमणको तयारीका क्रममा उनी नेपाल आएका हुन्।
मिस्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले स्वागत गरेका थिए। चार महिनाअघि नै उनको नेपाल भ्रमणको कार्यक्रम तय भए पनि अन्तिम समयमा स्थगित भएको थियो।
भ्रमणका क्रममा विदेशसचिव मिस्रीले प्रधानमन्त्री बालेनसँग भेटवार्ता गरी उनलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने तयारी रहेको बताइएको छ।
यसैबीच, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतीय विदेशसचिव मिस्रीबीच द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। छलफलमा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हित र चासोका विविध विषयमा विचार आदानप्रदान हुने कार्यक्रम छ।
दुई देशबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भ्रमण हुन लागेको मन्त्रालयले जनाएको छ।
मिस्रीको दुईदिने भ्रमणलाई प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणको तयारी र नेपाल–भारत उच्चस्तरीय संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
















प्रतिक्रिया