काठमाडौँ । सरकारले नसर्ने रोगको बढ्दो जोखिम नियन्त्रण गर्न रोकथाम, जनचेतना र नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिने भएको छ। सार्वजनिक स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले सरकारले नसर्ने रोगसम्बन्धी बहुक्षेत्रीय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी गरेको हो।
यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्था र नियन्त्रणका उपायबारे छलफल भएको छ।
बैठकले स्वास्थ्य प्रवर्द्धनका माध्यमबाट नसर्ने रोगको दीर्घकालीन रोकथामका लागि आवश्यक पहल गर्ने निष्कर्ष निकालेको छ। साथै, बहुक्षेत्रीय कार्ययोजना प्रभावकारी बनाउन सबै मन्त्रालयसँग अन्तरक्रिया गर्ने र नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
बैठकमा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना फैलाउने, नसर्ने रोग नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्ने तथा विद्यालय तहदेखि नै सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने विषयमा छलफल भएको थियो। विशेषज्ञ चिकित्सकलाई देशमै टिकाइराख्ने उपायबारे पनि बैठकमा चर्चा गरिएको थियो।
सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, जंक फुड, विषादीयुक्त खानेकुरा र अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख कारकका रूपमा औँल्याउँदै तिनको नियन्त्रण तथा नियमनमा प्रभावकारी कदम चाल्नुपर्नेमा बैठकले जोड दिएको छ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारमा मात्र निर्भर नभई रोकथाम, जनचेतना, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गर्ने नीति लिएको छ।
नेपालले सन् २०३० सम्ममा नसर्ने रोगका कारण हुने अकाल मृत्युलाई एक तिहाइले घटाउने दिगो विकास लक्ष्यप्रति प्रतिबद्धता जनाएको छ। सोही लक्ष्य हासिल गर्न सरकारले स्वास्थ्य क्षेत्रसँगै अन्य सरोकारवाला निकायको समन्वय र सहकार्यलाई पनि महत्त्व दिएको छ।


















प्रतिक्रिया