रौतहटको गौरमा युवकमाथि गोली प्रहार, अवस्था गम्भीर


रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले एक युवकमाथि पाँच राउन्ड गोली प्रहार गरेका छन्। गोली लागेर गौर नगरपालिका–४ गढवाका रामविलास यादवका छोरा राकेश कुमार यादव गम्भीर घाइते भएका छन्।

स्थानीयका अनुसार मंगलबार राति करिब ९ः१५ बजे गढवा गाउँस्थित पानी ट्यांकी नजिक यादवमाथि एक्कासि गोली प्रहार भएको थियो। पाँच राउन्ड गोली चलेपछि घटनास्थलमा त्रास फैलिएको थियो। घाइते यादवलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमका अनुसार यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनको सिटी स्क्यान गर्दा पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको देखिएको चिकित्सकबाट जानकारी प्राप्त भएको गौतमले बताए।

यादवको हात, पाखुरा र पिठ्युँलगायतका भागमा गोलीका घाउ देखिएको प्रहरीले जनाएको छ। अवस्था गम्भीर रहे पनि उनी चिकित्सकसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको डीएसपी गौतमले जानकारी दिए।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको अनुसन्धानसँगै गोली प्रहारमा संलग्न व्यक्तिको खोजी सुरु गरेको छ।

युवकमाथि कसले र किन गोली प्रहार गर्‍यो भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन। घटनाको कारण र संलग्न व्यक्तिको पहिचानका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सदरमुकाम गौरकै बस्तीमा रातिको समयमा भएको गोली प्रहारको घटनाले स्थानीय बासिन्दामा सुरक्षा चिन्ता बढाएको छ।