नेपाल बैंकका क्रेडिट कार्डबाट शून्य डाउन पेमेन्टमै सामान किन्न सकिने


काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई लक्षित गर्दै शून्य प्रतिशत डाउन पेमेन्टमा तत्काल किस्ताबन्दी सुविधा सञ्चालनमा ल्याएको छ। यसका लागि बैंकले ‘बाइ नाउ पे लेटर’ (अहिले किन्नुहोस्, पछि तिर्नुहोस्) प्लेटफर्म सञ्चालन गर्दै आएको फिनटेक कम्पनी फिनटारा सोलुसन्ससँग व्यावसायिक सम्झौता गरेको छ।

काठमाडौंस्थित नेपाल बैंकको केन्द्रीय कार्यालयमा दुवै संस्थाका उच्च अधिकारीहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतासँगै बैंकका योग्य क्रेडिट कार्ड प्रयोगकर्ताले वनबीएनपीएलको सञ्जालमा आबद्ध व्यापारिक प्रतिष्ठानबाट वस्तु तथा सेवा खरिद गर्दा एकमुष्ट रकम भुक्तानी गर्नुपर्ने छैन।

यस सुविधाअन्तर्गत ग्राहकले आफूलाई आवश्यक पर्ने सामान तथा सेवा खरिद गरी तीनदेखि १८ महिनासम्मको लचिलो अवधिमा किस्ताबन्दीमार्फत भुक्तानी गर्न सक्नेछन्। यसले ग्राहकलाई तत्काल आवश्यक वस्तु तथा सेवा खरिद गर्न र आफ्नो आर्थिक क्षमताअनुसार भुक्तानी व्यवस्थापन गर्न सहज बनाउने बैंकको विश्वास छ।

बैंकका अनुसार वनबीएनपीएलसँग आबद्ध १५० भन्दा बढी अनलाइन तथा अफलाइन व्यापारिक प्रतिष्ठानमा यो सुविधा उपलब्ध हुनेछ। यसमा खुद्रा पसल, मोबाइल तथा ग्याजेट स्टोर, घरायसी उपकरणका विक्रेता, अस्पताल, रिसोर्ट तथा भ्रमण प्याकेज उपलब्ध गराउने संस्थालगायत समेटिएका छन्।

सम्झौता कार्यक्रममा बोल्दै नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठकले उदाउँदा फिनटेक कम्पनीसँगको सहकार्यमा क्रेडिट कार्ड प्रयोगकर्तालाई आधुनिक डिजिटल ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध गराउने बैंकको लक्ष्य रहेको बताए। डिजिटल वित्तीय सेवाको विस्तारसँगै ग्राहकलाई थप सहज र सुविधाजनक सेवा दिन यस्तो साझेदारी महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

त्यस्तै, फिनटारा सोलुसन्सका कार्यकारी निर्देशक आशिष शर्माले देशभर ठूलो ग्राहक आधार भएको सरकारी बैंकमार्फत सेवा सुरु हुनु कर्जामा सहज पहुँच विस्तार गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धि भएको बताए। यसले क्रेडिट कार्डको प्रयोगमार्फत दैनिक तथा आवश्यक खरिदलाई न्यून लागतमा सहज बनाउने उनले धारणा राखे।

कार्यक्रममा नेपाल बैंकका रिटेल कर्जा विभाग प्रमुख अर्जुनबहादुर कँडेल र कार्ड विभाग प्रमुख दीपक रेग्मीले ग्राहकका बदलिँदा आवश्यकता सम्बोधन गर्न फिनटेक कम्पनीसँगको साझेदारीमा तत्काल किस्ताबन्दी सेवा उपलब्ध गराउनु महत्त्वपूर्ण रहेको बताएका थिए।