काठमाडौँ । भारतको दक्षिणी तटीय क्षेत्रमा एक साताभित्रै दोस्रो चक्रवात प्रवेश गरेपछि जनजीवन प्रभावित भएको छ। ‘मुरासु’ नाम दिइएको चक्रवात मंगलबार बिहान तटीय क्षेत्रमा प्रवेश गरेको हो। चक्रवातसँगै आएको तीव्र हावा र भारी वर्षाले विशेषगरी आन्ध्र प्रदेशमा प्रभाव पारेको छ।
स्थानीय विपद् व्यवस्थापन विभागका अधिकारीका अनुसार चक्रवातका कारण प्रतिघण्टा १२० किलोमिटरसम्मको गतिमा हावा चलेको थियो। तीव्र हावा र वर्षाका कारण आन्ध्र प्रदेशका विभिन्न जिल्ला प्रभावित भएका छन् भने हजारौँ मानिस जोखिममा परेका छन्।
प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। तीव्र हावाका कारण विभिन्न स्थानमा ठूलो संख्यामा रूख ढलेका छन्। यद्यपि, हालसम्म मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन। प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति भने सामान्य अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
खराब मौसमका कारण हवाई सेवा पनि प्रभावित भएको छ। आन्ध्र प्रदेश र छिमेकी राज्य तमिलनाडुका विभिन्न विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानसहित २० भन्दा बढी उडान रद्द गरिएका छन्। केही विमानको उडान मार्गसमेत परिवर्तन गरिएको छ।
यसअघि आएको ‘अर्नब’ नामक चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिशामा १० जनाभन्दा बढीको मृत्यु भएको थियो। त्यसको एक सातामै अर्को चक्रवातले प्रभाव पारेपछि भारतको दक्षिणी तथा पूर्वी तटीय क्षेत्रमा विपद्को जोखिम थप बढेको छ।
लगातार दुई चक्रवातको प्रभावलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले उद्धार, सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणका लागि सतर्कता बढाएको छ।

















प्रतिक्रिया