भ्रष्टाचार नियन्त्रणबिना सुशासन सम्भव छैन : राष्ट्रपति पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्न सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै बुधबार उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले व्यक्तिगत सुविधाभन्दा जनताको सेवालाई प्राथमिकता दिनुपर्ने बताए।

जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीले सार्वजनिक जिम्मेवारीलाई अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिनुपर्ने उनको भनाइ थियो। जनताको अपेक्षा पूरा गर्न तीनै तहका सरकार गम्भीर र जिम्मेवार हुनुपर्ने उनले बताए।

राष्ट्रपति पौडेलले प्रशासकीय भवन आधुनिक हुँदैमा मात्र सेवा प्रवाह प्रभावकारी नहुने उल्लेख गरे। प्रशासनिक कार्यशैली पनि प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुनुपर्नेमा जोड दिँदै उनले सूचना प्रविधिको प्रयोग, डिजिटल सेवा, अभिलेख व्यवस्थापन तथा गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताए।

उनले नवनिर्मित प्रशासकीय भवनलाई नागरिकले सेवा प्राप्त गर्ने विश्वासको केन्द्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थानीय आधारका रूपमा व्याख्या गरे। भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने उनको भनाइ थियो।

यसैगरी, राष्ट्रपति पौडेलले दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याए। त्यसका लागि स्थानीय तहले उपलब्ध स्रोत, साधन र सम्भावनाको सदुपयोग गर्दै पर्यटन प्रवर्द्धनमा ध्यान दिनुपर्ने उनले बताए।