काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले विश्वभर रहेका नेपालीको समस्या, आवश्यकता र सम्भावना बुझेर राज्यले आवश्यक नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने बताएकी छन् ।
बुधबार प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको योगदानलाई विप्रेषणमा मात्र सीमित गरेर हेर्न नहुने धारणा राखिन् ।
वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले लाखौँ परिवारको जीवनयापन र मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै भण्डारीले विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि, अनुभव र कार्यसंस्कृति पनि नेपालको विकासका लागि महत्त्वपूर्ण पुँजी भएको बताइन् ।
विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालको कृषि, उद्योग, शिक्षा, प्रविधि तथा सेवा क्षेत्रको विकाससँग जोड्ने उपयुक्त वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
भण्डारीले प्रवासी नेपाली आफू बसेको मुलुकमा नेपालको पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्ने जनस्तरका दूतसमेत भएको उल्लेख गरिन् । विदेशमा रहँदा नेपालीको व्यवहार, काम र गतिविधिमा नेपालको इज्जत र गरिमा झल्किनुपर्ने उनको जोड थियो ।
‘आफू बसेको मुलुकको कानुन, नियम र संस्कृतिको सम्मान गर्दै इमानदारी, मेहनत र व्यावसायिक दक्षताका साथ आफ्नो जिम्मेवारी पूरा गर्नु आवश्यक छ,’ उनले भनिन्, ‘नेपाल र आफू बसेको मुलुकबीच आपसी समझदारी, मित्रता र सहकार्य अभिवृद्धि गर्न पनि तपाईंहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ ।’
विदेशमा रहेका नेपाली, विशेषगरी श्रमिकले भोगिरहेका समस्या र कठिनाइप्रति पनि राज्य गम्भीर हुनुपर्ने भण्डारीले बताइन् । श्रम शोषण, न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल, ठगी तथा सम्झौताविपरीत काममा लगाउनेजस्ता समस्या अझै कायम रहेको उनको भनाइ थियो ।
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन रोजगारदाता मुलुकसँग प्रभावकारी श्रम सम्झौता गर्नुपर्नेमा जोड दिँदै उनले श्रमिकको उचित पारिश्रमिक, कानुनी अधिकार, स्वास्थ्य तथा दुर्घटना बीमा र सामाजिक सुरक्षाको प्रत्याभूति गरिनुपर्ने बताइन् । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन पनि राज्यले प्राथमिकता दिनुपर्ने उनको धारणा थियो ।
मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न प्राकृतिक स्रोतमा आधारित हरित उद्योग, जलविद्युत्, खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार तथा खनिजमा आधारित उद्योगको प्रवर्द्धन गर्न सकिने भण्डारीले बताइन् । पर्यावरणमैत्री पर्यटनको विस्तारबाट पनि रोजगारी सिर्जना गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सकिने उनको भनाइ थियो ।
यी सम्भावनालाई व्यवहारमा उतार्न स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने उल्लेख गर्दै उनले प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलतालाई देश विकासमा उपयोग गर्नुपर्ने बताइन् । प्रवासी नेपालीको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहन गर्न सरकारलाई लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न उनले आग्रह गरिन् ।
यसैबीच, भण्डारीले नेकपा एमालेले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह गर्दै वस्तुनिष्ठ मूल्याङ्कन गर्नुपर्ने बताइन् ।
जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा अघि बढ्दै आएको एमालेले लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गरेको उनको भनाइ थियो ।
पार्टीबारे फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्नेमा जोड दिँदै उनले विदेशमा रहेका नेपाली समुदायबीच नेपालको राजनीतिक घटनाक्रम र राजनीतिक दलहरूबारे सही सूचना तथा विचार सम्प्रेषण गर्नुपर्ने बताइन् ।
‘पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्दछ,’ उनले भनिन्, ‘विशेषगरी विदेशमा रहनुभएका नेपाली समुदायमा नेपालको राजनीतिक घटनाक्रम र राजनीतिक दलहरूबारे सही सूचना तथा विचार सम्प्रेषण गर्दै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न तपाईंहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ ।’
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधि सहभागी हुने जनाइएको छ । दुई दिनसम्म चल्ने अधिवेशनले अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको समापन समारोहलाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

















प्रतिक्रिया