कार्कीलाई हटाउनु कारवाही होइन, जिम्मेवारी परिवर्तन मात्रै हो : सरकारका प्रवक्ता


काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारवाहीस्वरूप पदबाट नहटाइएको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीको जिम्मेवारी मात्रै हेरफेर गरिएको दाबी गरेका छन् ।

बुधबार मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाइएको विषयलाई कारवाहीका रूपमा बुझ्न नहुने बताएका हुन् ।

पत्रकारहरूले कार्कीलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाउनुको कारणबारे प्रश्न गरेपछि पोखरेलले उनको भूमिका परिवर्तन गरिएको स्पष्टीकरण दिएका थिए ।

उनका अनुसार अब कार्कीले प्रधानमन्त्रीलाई शान्ति सुरक्षासम्बन्धी विषयमा सल्लाह दिने जिम्मेवारी पाएका छन् । उनले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारका रूपमा कार्कीको नयाँ भूमिका पनि संवेदनशील रहेको बताए ।

‘उहाँलाई कारवाही होइन, जिम्मेवारी हेरफेर मात्रै गरिएको हो । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई शान्ति सुरक्षासम्बन्धी सल्लाह दिने हुन्छ,’ पोखरेलले भने ।

प्रवक्ता पोखरेलले संवेदनशील विषयमा सरकारले आवश्यक कदम चाल्नुपर्ने सुझाव विभिन्न पक्ष र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समेत आएको दाबी गरे । सोही सन्दर्भमा कार्कीलाई सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको उनको भनाइ छ ।

सरकारले यसअघि मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै एआईजी मनोजकुमार केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।