आईजीपीमाथिको कारबाही राज्यसत्ताको चरम दुरुपयोग हो : ज्ञानेन्द्र शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई व्यक्तिगत स्वार्थका आधारमा पदबाट हटाउनु राज्यसत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरेका छन् ।

सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि शाहीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आईजीपीले कुनै अपराध गरेको भए त्यसको कारबाही कानुनअनुसार हुनुपर्ने शाहीको भनाइ छ । गल्ती गरेको व्यक्तिलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर जिम्मेवारी दिनुभन्दा कानुनी प्रक्रियामार्फत कारबाही गर्नुपर्ने उनले बताएका छन् ।

‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो,’ शाहीले भनेका छन् ।

कार्कीले कुनै गल्ती नगरेको र कानुनविपरीत काम नगरेको अवस्थामा व्यक्तिगत स्वार्थका आधारमा पदबाट हटाउनु राज्यसत्ताको चरम दुरुपयोग हुने उनको टिप्पणी छ ।

आईजीपीको गल्ती नभए पनि पदबाट हटाइएको हो भने त्यसको पछाडि भ्रष्ट आचरण रहेको हुन सक्ने शाहीको बुझाइ छ । उनले सरकारको निर्णयमाथि प्रश्न उठाउँदै प्रहरी नेतृत्व परिवर्तनमा कानुनी आधार र प्रक्रिया स्पष्ट हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।