स्वास्थ्यमन्त्री मेहतासँग जापानी राजदूतको शिष्टाचार भेट


काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन्।

स्वास्थ्य मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल–जापान सम्बन्ध, आपसी सहकार्य र स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ।

भेटका क्रममा मन्त्री मेहताले भोटेकोसी बाढीबाट प्रभावित जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। उनले वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायत स्वास्थ्य संस्थामा जापानले गर्दै आएको सहयोगको पनि प्रशंसा गरिन्।

जवाफमा राजदूत तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सहयोग गर्न तयार रहेको बताए। साथै, उनले दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ।