काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्।
बुधबार भएको छलफलमा सभामुख अर्यालले समितिहरूमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन सभापतिहरूलाई आग्रह गरेका छन्। उनले विधेयकमाथि प्रचलित नियमावली र कानुनी व्यवस्थाअनुसार संशोधन प्रस्ताव दर्ता गर्न पनि प्रोत्साहित गरे।
विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा स्थापित नियम र प्रक्रियाको पालना गर्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले सम्बन्धित राजनीतिक दल तथा विषयविज्ञहरूसँग आवश्यक छलफल गरेर औचित्यपूर्ण संशोधन प्रस्ताव राख्न सुझाव दिए।
उनले विधेयकहरूमाथि गहन र घनीभूत छलफल गर्नुपर्ने उल्लेख गर्दै समितिहरूको कामकारबाहीलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन सभापतिहरूलाई आग्रह गरेका छन्।
संसदीय समितिहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेमा विधेयक निर्माण तथा संसदीय कामकारबाहीलाई गति दिन सहयोग पुग्ने सभामुख अर्यालको जोड थियो।

















प्रतिक्रिया